ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज


ओखलढुङ्गा, १ असोज । ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । डिउटीको समयमासमेत टिकटक लगायत मनोरञ्जनका एप्सहरु चलाउँदा काममा असहयोग पुग्ने भदै प्रहरीलाई टिकटक लगायतका मनोरञ्जनका एप्सहरु चलाउन प्रतिबन्ध लगाइएको हो ।

ओखलढुङ्गाका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी डिउटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने बताए । साथै उनले समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री मात्र पोस्ट गर्नुपर्ने बताएका छन् ।

उनले ‘प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन । डिउटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन् स्वीकार्य हुँदैन ।’ देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराइएको पनि उनको भनाइ छ । 

डिउटीमा रहेका बेला प्रहरी चनाखो बन्नु पर्ने सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश दिनुपर्ने भएकोले जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनका एप्सहरु नचलाउन निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्