बँदेललाई थापेको विद्युतीय पासोले एकै परिवारका तीन जनाको ज्यान लियो


बर्दिया, २ असोज । बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजू ४३ वर्षकी बेलमती थारु रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरू दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको बताएका छन् । 

धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर एक जनाको ज्यान गएको थाहा पाए लगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैले घर परिवारमा जानकारी गराएका थिए ।

पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्