अफगानिस्तानमा तालिबानद्वारा महिला मन्त्रालय हटाइँदै


काठमाडौँ, २ असोज । अफगानिस्तानमा नव गठित तालिबान सरकारले महिला मन्त्रालय हटाएको छ । इस्लामिक मूल्य र मान्यताको वकालत गर्दै आएको तालिबान नेतृत्वको सरकारले शुक्रवार महिला मन्त्रालय हटाएको हो ।

तालिबानले महिला मन्त्रालय हटाएर त्यसको ठाउँमा ‘सदाचार दुराचार’ मन्त्रालय राख्ने निर्णय गरेको बीबीसीले जनाएको छ । राजधानी काबुलमा राखिएको यो सदाचार र दुराचार मन्त्रालयले इस्लामिक मूल्य र मान्यता तथा नैतिकतालाई प्राथमिकतामा राख्ने बताइएको छ ।

‘सदाचार दुराचार’ मन्त्रालय तालिबानको सन् १९९६ देखि २००१ सम्मको शासनकालमासमेत रहेको तर पछि नयाँ सरकार आएसँग त्यसलाई हटाइएको थियो । सन् १९९० को दशकमा तालिबान शासनको क्रममा कठोर इस्लामिक नियम पालना गराउन यो मन्त्रालयको विशेष भूमिका रहेको बताइन्छ ।

उता अफगानी महिलाहरू भने आफ्नो अधिकारका लागि लामो समयदेखि आन्दोलनरत छन् । (बीबीसी न्युजबाट)

प्रतिक्रिया दिनुहोस्