सरकारद्वारा प्रदान गरिने पदक तथा सम्मान अस्वीकार गर्नेको बढ्यो क्रम


काठमाडौँ, ३ असोज । एकातिर आफूलाई पदक तथा सम्मान दिलाउन दौडधुप गर्नेको सङ्ख्या कम छैन तर सरकारद्वारा प्रदान गर्ने पदक तथा सम्मान अस्वीरकारकहरु पनि कम छैनन् । पछिल्लो समय सकारद्वारा प्रदान गरिने पदक तथा सम्मान अस्वीकार गर्नेको क्रम बढेको छ ।

संविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने भनेको पदक तथा सम्मान काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहले पदक अस्वीकार गरेका छन् । वर्तमान सरकारले सिंहलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने निर्णय गरेको थियो । उनले आफूले नयाँ संविधान आफूले स्वीकार नगरेको भन्दै सिंहले संविधान दिवसको दिन दिइएको पदक ग्रहण गर्न आफूलाई नैतिकताले नदिने बताएका छन् ।

यता चर्चित कार्टुन रविन सायमीले पनि सरकारले प्रदान गर्ने पदक ग्रहण गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सायमीले सरकारले आफूलाई दिने भनेको जनसेवाश्री पदक ग्रहण नगर्ने बताएका छन् । 

यस्तै पत्रकार हरिबहादुर थापाले पनि सरकारले प्रदान गर्ने सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेको बताएका छन् । उनले यो पदक तथा सम्मान प्रक्रिया नै ठिक नभएको बताएका छन् ।

इकागज डटकमका प्रधानसम्पादक रहेका थापाले सामाजिक सञ्जालमार्फत पदक अस्वीकार गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’

सरकारले संविधान दिवस २०७८ को अवसरमा ९ सयभन्दा बढीलाई पदक दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्