बेलबारी नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण


बेलबारी, ४ असोज । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउने उद्देश्यले बेलबारी नगरपालिकाले नगरका तीन वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले आज एक कार्यक्रमबिच ती विद्यालयलाई बसको साँचो हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला, नगरप्रवक्ता योगेन्द्र सुवेदी, वडा नं १ का अध्यक्ष चक्रबहादुर खुलाल, लक्ष्मी माविका प्रधानाध्यापक एवम् शिक्षा समितिका सदस्य गोविन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

बस पाउने नयाँ विद्यालयहरूमा बेलबारी १ को जनता मावि, बेलबारी ८ को जनता मावि र बेलबारी ९ को जनता नमुना मावि रहेका छन् । उपलब्ध बसले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा थप सहयोग पुग्ने नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले आसा लिएको बताएका छन् । उनले अहिले तीन वटा विद्यालयलाई बस प्रदान गरिए पनि क्रमैसँग अरू विद्यालयलाई पनि बस उपलब्ध गराउने नगरपालिकाको लक्ष रहेको बताए ।

बेलबारी सञ्चालित एक मात्र क्याम्पस बेलबारी बहुमुखी क्याम्पस र अन्य विद्यालयसँग समन्वय गरेरै भए पनि वितरित बसलाई नियमित गर्न सकिने शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइरालाको विचार रहेको छ । वितरित बसलाई २७ लाख २६ हजार ७ सय ६४ परेको छ । 

साँचो बुझ्दै विद्यालयका प्रधानाध्यापकहरूले प्राप्त बसलाई विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउने काममा लगाउने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्