रत्नजित, प्रिन्स र प्रफुल प्रि–क्वाटरफाइनलमा


काठमाडौँ, ४ असोज । विभागीय त्रिभुवन आर्मी क्लबका शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियरको तेस्रो वरीयतामा रहेका आयोजक रिभाइभ लिजर पार्कका प्रिन्स दाहालसँगै आर्मीकै प्रफुल महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएको राउन्ड अफ ३२ को खेलमा वाइ पाएर दोस्रो चरणमा खेलेका रत्नजित तामाङले आर्मीकै आयुष्मान नागरीलाई २१–९ र २१–८ सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । यस्तै आयोजक लिजर पार्कका प्रिन्स दाहालले कपिलवस्तु ब्याडमिन्टन क्लबका रोहित बरालमाथि २१–६ र २१–७ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

 
आर्मीकै पविन लिङ्थेप र प्रफुल महर्जनले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । पविनले नेपाल एपिफ क्लबका पेम्वा शेर्पालाई २१–१७ र २१–१४ तथा प्रफुलले बिर्ता ब्याडमिन्टन क्लबका नवीन सिलवाललाई २१–१० र २१–८ ले हराए । एपिएफका सुमन लिम्बुले देवीनगर ब्याडमिन्टन क्लबका एडिस कार्कीलाई २१–१५ र २१–११ ले हराए । यस्तै लोकान्तरका सुदिप सेढाईले चितवनका राजु थापामाथि २१–१७ र २१–१२ को सहज जित निकाले । काठमाडौँ ब्याडमिन्टन एकेडेमीका दीपन गायकले आफ्नै एकेडेमीका बविस थापालाई १३–२१, २१–१६ र २३–२१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए । पुलिसका पूर्ण बहादुर थापाले भक्तपुर ब्याडमिन्टन एसोसिएसनका विवेक भट्टराईलाई २१–९ र २१–१२ ले हराए । पाँचथरका एसिया जवेगुले आर्मीका विवेक चौधरीलाई २१–११ र २१–१५ को सेटमा पाखा लगाए । 


साइनो स्पोर्ट्सका सुजन थापाले कैलाली ब्याडमिन्टन क्लबका चक्र साउदलाई २१–१६ र २१–१९ ले तथा एपिएफका प्रियान्सु सिंह क्षेत्रीले आफ्नै क्लबका नीराजन देवकोटालाई २१–१३ र २१–१५ ले हराए । एपिएफका गौतम सिंह कठयताले पीएफसी ब्याडमिन्टन क्लबका अभिन्यास कार्कीलाई २१–१२ र २१–१४ ले हराए । सेनाका गोकुल जोराले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका स्वयम मानन्धरलाई २१–१२, १७–२१ र २१–१५ ले तथा एपिएफका साजन कृष्ण ताम्रकारले कपिलवस्तुका अभय महरामाथि २१–११ र २१–११ को सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे । आर्मीका रुकेश महर्जनले नेपाल पुलिस क्लबका जीवन आचार्यबाट तथा भोज बहादुर गुरुङले एपिएफका विजित थापामगरबाट वाकओभर पाए । पुरुष युगलतर्फ पनि प्रि–क्वाटरफाइनल समिकरण पुरा भएको छ । पुरुष युगलमा आर्मीका पविन लिङ्थेप र सुरोज महर्जन, कपिलवस्तुका रोहित बराल र अभय महरा, साइनो स्पोर्ट्स क्लबका राम बानियाँ र सुजन थापा, पाँचथर र बिर्ता बीसीका एसिया जवेगु र नवीन सिलवाल, एपिएफका प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा, बिबिसीका विश्वास रिमाल र गणेश रायमाझीको जोडीले प्रि–क्वाटरफाइनलमा स्थान बनाए ।

यस्तै चन्द्रागिरी ब्याडमिन्टन क्लबका रामसिंह चौधरी र राज कुमार पोखरेल, बालकुमारी रिमिक्स ब्याडमिन्टन क्लबका ससिन डंगोल र सुमित महर्जन, कैलाली ब्याडमिन्टन क्लबका दितिक न्यौपाने र चक्र साउद, कास्कीका विधान अधिकारी र विशाल खड्का, सेती पुरीका नन्दु लिम्बु र तुल्सी पुरी, पीएससी ब्याडमिन्टन क्लबका अभिन्यास कार्की र रामहाङ राई र मनकामना स्पोर्ट्स क्लबका बी बस्नेत र पि सिंह ठकुरीले आ–आफ्नो प्रतिद्धन्द्धीलाई पाखा लगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरे । यस्तै ४५ वर्षमाथिको भेटरान्स डबल्सको प्रि–क्वाटरफाइनल समिकरण पुरा भएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ । करिब १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शीर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथिको भेट्रान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । च्याम्पियनसिप ५ असोजसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्