१६ सांसदविरुद्ध ओलीको रिट ‘हेर्दाहेर्दै’ मा


काठमाडौँ, ४ असोज । नेकपा एमालेका १४ प्रतिनिधिसभा सदस्य र दुई लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारबाही सदर गर्न माग गर्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’ राखिएको छ ।न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि आज टुङ्गो नलागेको हो ।

यो मुद्दामाथिको सुनुवाइ मङ्गलवार पनि जारी रहने छ । एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको तथा लुम्बिनीका विमला वली र अजय शाहीलाई पनि सभामुखले जोगाएपछि एमाले अदालत गएको हो ।

रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता महेश नेपाल, विजयकान्त मैनाली, पूर्व महान्यायाधिवक्ता रमेश बडालसहित बाबुराम दाहाल, श्रीकान्त बराल, भोजराज आचार्यलगायतले बहस गर्दैछन् ।

त्यस्तै विपक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, गोविन्द बन्दी लगायत छन् । रमन श्रेष्ठलगायतले बहस गर्न बाँकी रहेकाले सो मुद्दा हेर्दाहेर्दैमा छ । (नयाँ पेजबाट) 

प्रतिक्रिया दिनुहोस्