काठमाडौँमा ‘रोहिंग्या’ भित्र्याएको आरोपमा तीन जना पक्राउ, अमेरिका पठाइ दिने प्रलोभन


काठमाडौँ, ४ असोज । प्रहरीले बङ्गलादेशको शरणार्थी शिविरबाट रोहिंग्या समुदायका मानिस काठमाडौँमा भित्र्याएको आरोपमा एक बङ्गलादेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा बङ्गलादेशी नागरिक अजमत् उल्लाहा, म्यान्मारी नोरुन अमिन र सोफिक अलाम रहेका छन् । सोफिक र अमिन रोहिंग्या शरणार्थी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रोहिंग्या नागरिकहरूलाई ओसारपसारमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले तीन जना रोहिंग्याहरुलाई बङ्गलादेशबाट काठमाडौँ ल्याएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बङ्गलादेशी नागरिकसहित कपन शिविरमा बस्दै आएका दुई रोहिंग्या छन् ।


उनीहरूले बङ्गलादेशको रोहिंग्या शिवरमा बसेका बर्मेली रोहिंग्याहरुलाई नेपाल हुँदै अमेरिका पठाई दिने प्रलोभन देखाएर नेपाल ल्याएको प्रहरीको अनुसन्धानले देखाएको छ ।


उनीहरूले प्रति पुरुष ५ हजार ७५०, प्रति महिला ३ हजार ७५० र बालबालिकालाई २ हजार ७५० रुपैयाँ भत्ता सुविधा दिने भन्दै नेपाल ल्याउन फकाएका थिए । बङ्गलादेशी नागरिक अजमतले ढाकादेखि काठमाडौंसम्मको यात्राको लागि उनीहरूबाट २ लाख ५० हजार टाका (बङ्गलादेशी मुद्रा) लिएको प्रहरीले जनाएको छ । (नयाँ पेजबाट) 

प्रतिक्रिया दिनुहोस्