रोजिना मृत्यु प्रकरण : सुन्दरहैँचाकी रोजीनाको हत्या आरोपमा ३ जना विरुद्ध किटानी जाहेरी


बेलबारी, ५ असोज । मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरकी २१ वर्षीय रोजिना गिरीको हत्या आरोपमा माइतीले ३ जनाबिरुद्ध किटानी जाहेरी दिएका छन् । माइती पक्षले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग राख्दै इलामा प्रहरी कार्यालय बेलबारी पुगेर रोजीकी सासू, जेठाजु र जेठानी विरुद्ध किटानी जाहेरी दिएको मृतकका काका चक्र गिरीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले मृतकका माइती पक्षले उनका ससुरालीतर्फका तीनजनाविरुद्ध किटानी जाहेरी दिएको पुष्टि गर्दै भने ‘उहाँहरूले किटानी जाहेरी दिनु भएको छ । त्यस विषयमा हामीले अनुसन्धान जारी राखेका छौँ ।’रोजिना शनिवार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन । घटना प्रकृतिका आधारमा रोजीनाले आत्महत्या गरिएको भनिए पनि आत्महत्या गरेको नभएर उनको हत्या गरिएको उनका आफन्तले आरोप लाएका छन् । 

माइती पक्षले आइतबार उर्लाबारीबाट इलाका प्रहरी कार्यालय बेलबारी आएर किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी दिँदै मृतक रोजीका पिता धर्म गिरीले भाव विह्वल हुँदै भने ‘आत्महत्या भनिएको छ तर हामी आत्महत्या मान्न तयार छैनौँ, हत्या गरेर आत्महत्या देखाउन झुण्डाएका हुनसक्छ, घटना प्रकृति हेर्दा कुनै पनि हालतमा आत्महत्या देखिँदैन । यो हत्या गरेर झुन्ड्याइएकोजस्तो देखिन्छ ।’ 

छोरीको हत्याको विषयमा प्रहरीले असहयोग गरेको माइती पक्षले आरोप लाएका छन् । मृतक रोजीनाका पिता भन्छन् ‘हामीले किटानी जाहेरी दिए पछि प्रहरीले दोषीलाई पक्रिएर अनुसन्धान सुरु गर्नु पर्ने हो तर किन त्यस्तो गर्दैन ? यसले हामीलाई झन् शसङिकत बनाएको छ ।’

उनी दोषीलाई चाँडो पक्रिएर अनुसन्धान सुरु गर्नु पर्ने माग गर्छन् । 

यता यस विषयमा बुझ्दा इलाका प्रहरी कार्यालय बेलबारी प्रहरी निरीक्षक सरोज खनाल भने प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् । ठोस प्रमाण नहुँदा नियन्त्रणमा नलिए पनि अनुसन्धान भने जारी भएको उनी बताउँछन् । 

उर्लाबारी ८ दुर्गापुरी माइती भएकी मृतक रोजीनाको गत २०७७ सालको भदौमा सुन्दरहरैँचाका विनोद काफ्लेसँग प्रेम विवाह भएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा राखिएको छ । तर उनका घरतर्फका कोही नआउँदा शवको पोस्टमार्टम हुन सकेको छैन । वैदेशिक रोजगारीको क्रममा दुबईमा रहेका उनका श्रीमान् आए पछि मात्र शव बुझ्न आउने भने पछि पोस्टमार्टम हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्