अघिल्लो सरकारका पाला राजनैतिक रूपमा नियुक्त भएका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


काठमाडौँ, ६ असोज । मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारका पालामा राजनीतिक रूपमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रीपषिदको बैठकले यस्तो निर्णय गरेको हो । 

साथै उक्त बैठकले विभिन्न पाँच निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गरेको भने कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साढे १८ किलोमिटर ट्रयाकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का पाँच निर्णयहरू

१) राजनीतिक नियुक्तिका सबै राजदूतहरू फिर्ता बोलाउने ।

२) कर्णाली करिडोर अन्तर्गत सलिसल्ला, सिमिकोट खण्डको बुल्दिकुनादेखि लालीबगरसम्म सडक खण्डको सात किलोमिटर र लैखुबद्री गाउँदेखि हुकाखोलासम्म १३ दशमलव ५ किलोमिटर सडक निर्माणको ट्रयाक निर्माण कार्य नेपाली सेनालाई थाल्न स्वीकृति प्रदान ।

३) कोभिड १९ सङ्कट व्यवस्थापन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृत प्रदान । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान ।

४) कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने ।

५) संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिने प्रतिनिधिमण्डलको गठन गर्ने सन्दर्भमा ।

प्रतिक्रिया दिनुहोस्