कृषि पेसामै रमाउँदै बेलबारीका कृष्णबहादुर राई


बेलबारी, ८ असोज । बेलबारी नगरपालिका वडा नं ३ मैनाबारी कृषि टोलका  कृष्णबहादुर राईको जीवन शैली एउटा छुट्टै प्रकारको रहेको छ । बिहानदेखि साँझ सम्मको समय कृषि कार्यमै व्यतित गर्ने कृष्णबहादुर खेतबारीमा पस्दा अर्कै रमाइलो हुने, मनमा भएको तनाव पनि कम हुने बताउँछन् । सबै मानिसको यस्ता पेसा व्यवसाय गरेर आय आर्जनको प्रमुख उद्देश्य रहने गर्छ । तर कृष्णबहादुर भने कृषिलाई मनलाई शान्त बनाउने उद्देश्यको रूपमा लिएको बताउँछन् । उनी भन्छन् – खेत बारीमा पस्दा एउटा छुट्टै आनन्द हुने गर्छ । झन् फलफूल फलेको बेलाको रमाइलो झनै छुट्टै हुन्छ । समय बिताउन पनि सजिलो, ताजा फलफूल पनि खान पाइने ।’                           

मैनाबारी उज्यालो कृषक समूहका उपाध्यक्ष तथा मैनाबारी टोल विकासका उपाध्यक्षसमेत रहेका राई विगत लामो समयदेखि कृषि पेसामा आबद्ध रहँदै आएका छन् । सङ्खुवासभाको साबिकको माछेपोखरी गाविस हालको चिचिला गाउँपालिका वडा नं ४  पुरानो ठेगाना भएका राई २०६१ साल देखि बेलबारी ३ मा बसोबास गर्दै आएका छन् ।       उनी बिहान उठेदेखि साँझ सम्म नै कृषि कार्यमा नै खटिरहेका हुन्छन् । उनका दुई छोरा र दुई छोरी गरी चार सन्तान  रहेका छन् । सबै सन्तानले विद्यालय तहको अध्ययन पूरा गरेर उच्च शिक्षाको अध्ययन गरिरहेका छन् । उनका जेठा छोरा विधान भने पडाइलाई पनि निरन्तरता दिँदै शिक्षण पेसामासमेत आबद्ध रहँदै आएका छन् ।                                

सबैसँग मिलजुल गरेर बस्न रुचाउने, फरासिलो स्वभावका धनी कृष्णबहादुर उनले आफूसँग सीप र श्रम पुरै कृषि कार्यमै उपयोग गर्दै आएका छन् । आफूसँग भएको १ बिगाहा ७ कठ्ठा पुरै जमिनमा कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । साथै उनले केही थप जग्गा लिजमासमेत लिएर खेती गरेका छन् । आर्थिक उन्नति भन्दा समय बिताउन सहयोग भएको, आफ्नो बारीको अर्ग्यानिक सब्जी खान पाएकोमा उनी मक्ख छन् ।      त्यसो त उनले यो पेसाबाट आय आर्जन नगरेका भने होइनन् । घर परिवार आफ्ना चारै जना सन्तानको शिक्षा दिक्षाका लागि पनि यही पेसाले पुराउँदै आएको छ ।                                                         

पछिल्लो विदेशिनेको होड छ । भएभरको सम्पत्ति बैङ्क वा वित्तीय संस्थामा बन्दकी राखेर भए पनि विदेशिने होडमा देखिन्छन् तर कृष्णबहादुरले भने देशमै केही गर्नु पर्छ भन्ने विचार राख्दै आएका छन् । उनले आफ्ना सन्तानलाई पनि त्यही पाठ पढाउँदै आएका छन् । आफ्नो पौरख र कर्मशील हातले आफ्नै देशको माटोमा खियाउनु पर्छ भन्ने विचार राख्छन् उनी । करिब २ दशकदेखि तरकारी, कागती, केरा तथा दुध उत्पादन गर्दै कृष्णबहादुर वडामै कागती र तरकारी खेती गर्नेमा अग्रणी व्यक्तिका रूपमा परिचित छन् ।उनले कागती, तरुल, तरकारी, केरा, माछा पालनसमेत गरेका छन् ।    यो पेसामा उनलाई पुरै परिवारको साथ रहेको छ । तरकारीका बेर्ना तयार गर्ने, रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र उत्पादित तरकारीलाई बजारमा लगेर बेच्ने लगायतका काममा श्रीमती अमृताले साथ दिँदै आएकी छिन् । यति मेहनत गरेर उत्पादन गरेका सामग्रीले बजार नपाउँदा भने कहिलेकहीँ साह्रै चिन्तित बन्ने गरेको बताउँछन् । उनी भन्छन् – उत्पादन त गरिन्छ तर बजारको समस्याले गर्दा  उचित मूल्य पाउन सकिँदैन ।’                 

बिचौलियाले गर्दा किसानले उचित मूल्य नपाएको उनको ठहर रहेको छ । बिचौलियाको अन्त्य गर्ने हो भने मात्र पनि किसानलाई ठूलो राहत मिल्ने उनी बताउँछन् । नगरपालिकाबाट सहयोग पाइरहेको बताउने राई नगरपालिकाले बजार व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने विचार राख्छन् । यता नगरपालिकाले यस वडालाई कागती जोनको रूपमा विकास गरिरहेको छ । नगरले किसानलाई उन्नत बीउ, प्राविधिक सहयोग, कीटनाशक, सिँचाइका लागि पम्प सेट र रासायनिक मलमा सहयोगसमेत सहयोग गरिरहेको छ वडा सदस्य चन्द्रबहादुर राई बताउँछन् ।                                             

प्रतिक्रिया दिनुहोस्