कार दुर्घटना परेकी बेलबारीकी अर्की महिलाको पनि मृत्यु


बेलबारी, ७ असोज। केही दिन अघि मोरङको बूढीगङ्गा भएको कार दुर्घटनामा परेर घाइते भएकी अर्की महिलाको पनि मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते बेलबारी १ की ५५ वर्षीय सानी धिमालको मृत्यु भएको छ ।  

गत बिहीबार भएको दुर्घटनामा परेर गम्भीर घाइते बेलबारी १ की ३० वर्षीय चन्द्रकला राईको उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो । सोही दुर्घटनामा परेर घाइते भई उपचाररत बेलबारीकी धिमालको मृत्यु भएको हो ।  

बेलबारीबाट विराटनगरतर्फ जाँदै गरेको वा ११ च १५७१ नम्बरको कार कोसी राजमार्गअन्तर्गत पर्ने बूढीगङ्गा–३ को सडकको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीय गीता लिम्बू घाइते भएका छन् । दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्