इटहरीमा छिमेकीको छुरा प्रहारबाट एक जना युवकको मृत्यु


इटहरी, १० असोज । छिमेकीको छुरा प्रहारबाट इटहरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–३ स्थित सुनौलो बस्तीका वर्ष २२ का राजु थापा रहेको प्रहरीले जनाएको छ । थापालाई सोही ठाउँ बस्ने ५८ वर्षीय देवी प्रसाद अधिकारीको छुरा प्रहार गरेका थिए । 

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले सामान्य घरायसी विवादका कारण भएको छुरा प्रहारबाट इटहरी–३ स्थित सुनौलो बस्तीका वर्ष २२ का राजु थापाको मृत्यु भएको बताएका छन् । 

दिउसो भएको सामान्य विवादको विषयलाई लिएर अधिकारी र थापाबिच भएको विवादको क्रममा अधिकारीले छुरा प्रहार गरेको डिएसपी केसीले बताए । छुरा प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । 

थापाको मृत्यु पश्चात् आक्रोशित स्थानीय र आफन्तले अधिकारीको घरमा आगजनी गरेका छन् । प्रहरीले छुरा प्रहार गर्ने अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्