बेलबारी ५ मा समुदायस्तरमा घुम्ती तालिम सम्पन्न


बेलबारी, १२ असोज । बेलबारी वडा नं. ५ मा समुदायस्तरमा घुम्ती तालिम सम्पन्न भएको छ । दुई दिने तालिम सोमबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर उपप्रमुख ढाका कुमारी पराजुलीले, परम्परागत कृषि प्रणाली भन्दा आधुनिकप्रणालीबाट कृषक बढी लाभान्वित हुने भएकोले घुम्ती तालिम सञ्चालन आवश्यक रहेको बताइन । जीवन यापनको रूपमा मात्र नभएर आयआर्जनसँग जोड्दै कृषि क्षेत्रमा लगनशील हुन समेत पराजुलीले आग्रह गरिन ।

पर्याप्त ज्ञान सिक्न तामिलको अवधि छोटो भएमा आगामी दिनमा थप कार्यक्रम ल्याउने पराजुलीले प्रतिबद्धता गरिन । कृषकहरूलाई तालिममा सिकेका विषयमा समेत जानकारी गराएका थिए । तालिममा सहभागी २२ जना मध्यका एक सहभागी गोपाल गिरी र जगदबन्दु गिरीले प्रशिक्षणको दुई दिनमा माटो परीक्षण, बाली रोप्ने तरिका, बालीको औषधी उपचार गर्ने तरिका तथा विषादी बनाउने तरिका सिक्न पाएको र सोही अनुसार व्यवहारिक रूपमा लागु गर्ने समेत बताएका छन् । 

बेलबारी नगरपालिकाको कार्यालय कृषि विकास शाखाका प्रमुख विनोद दाहाले तालिममा सिकेका ज्ञानलाई व्यावहारिक रूपमा समेत लागु गर्न आग्रह गरेका छन् । कार्यक्रममा बेलबारी वडा नं. ५ का वडासदस्य रामकुमारी नेपालीले तालिमले कृषकहरूलाई फलदायी हुने विश्वास व्यक्त गरिन ।

प्रशिक्षार्थीहरूले आगामी दिनमा थप तालिमको अनिवार्य हुनु पर्ने बताएका छन् । छोटो अवधि भएकोले धेरै सिक्नु पर्ने ज्ञानमा केही मात्र सिक्न पाएको बताएका छन् । तालिम कतिको महत्त्वपूर्ण रहेछ भन्ने अनुभव बेलबारी नगरपालिकाको कार्यालय कृषि विकास शाखाद्वारा सञ्चालित घुम्ती तालिमबाट थाहा पाएको समेत कृषकहरूले बताए ।

समापन कार्यक्रममा सहभागी कृषक प्रशिक्षार्थीहरूलाई ४ प्रकारका तरकारीका बिउँको कम्पोजिट किट प्रदान गरिएको थियो । कार्यक्रम संयोजक खड्कप्रसाद गिरीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्