बेलबारी नगर सभापतिमा छत्र लिम्बूको उमेद्वारी घोषणा : राजेश खत्रीको लिम्बूलाई समर्थन


बेलबारी, १४ असोज । असोज १६ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस बेलबारी नगर समिति सभापतिका लागि छत्र लिम्बुले उमेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल क्षेत्रीय सभापतिसमेत रहेका लिम्बूले आज बिहिवार बेलबारी १ स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । 

काँग्रेस महासमिति सदस्य डाक्टर सुनिल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उमेद्वारी घोषणा कार्यक्रममा काँग्रेसका नेताहरू नगेन्द्र जमर कट्टेल, राजकुमार लिम्बु, मानबहादुर लिम्बू लगायतको सहभागिता रहेको थियो । यसअघि सभापतिको आकाङ्क्षीको रूपमा रहेका नेपाली काँग्रेसका वर्तमान नगर सचिव राजेश खत्री भने दौडबाट पछि हटेका छन् । खत्रीले पनि लिम्बूलाई समर्थन गर्ने भएका छन् ।     

लिम्बूको समूहबाट उपसभापतिमा नितु थापा कोइराला र प्रकाश चौधरी, सचिवमा कुलप्रसाद बराल र सन्तोष भट्टराई, सहसचिवमा बद्री विष्ट र मनिल मोतेले उमेद्वारी दिएका छन् ।   

लिम्बू काँग्रेस भित्रका कोइराला समूहका नेता मानिन्छन् । युवा समूहमा लोकप्रिय मानिने नेता लिम्बूले आफ्नो उमेद्वारी घोषणा कार्यक्रममा बोल्दै आफूहरूको समूहले भूगोल, जाती तथा लैङ्गिक रूपमा पनि सबैको प्रतिनिधित्व र समावेशिता रहने गरी उमेद्वारी तय गरेको दाबी गरेका छन् ।        

उता देउवा समूहका मानिने शम्भु भट्टराईको उमेद्वारी हुने र अब बेलबारीको सभापतिमा भट्टराई र लिम्बूविच प्रतिस्पर्धा हुने भएको छ । युवाको प्रतिनिधित्व गर्ने, युवा प्रतिनिधिको बाहुल्यता रहेका कारणले आफ्नो विजय पक्का छ भन्ने लिम्बू  र समन्वयात्मक भूमिकाले आफ्नो विजय सुनिश्चित भएको बताउने भट्टराई, यी दुई व्यक्तिबिचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्