व्यक्तिको चरित्र हत्या गर्ने सामग्री प्रसारण गर्ने ४ जना युट्युबर पक्राउ


बेलबारी, १४ असोज । व्यक्तिको चरित्र हत्या गर्ने भिडियो सामग्री प्रसारण गर्ने चार जनालाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चार जना युटुवरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मोरङको बेलबारी–९ घर भई हाल पेप्सिकोला बस्ने पिंकला कार्की, दाङको तुलसी उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, नुवाकोटको सूर्यगढी गाउँपालिका–२ चोकदे घर भई हाल काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी र दोलखा मेलुङ गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहेको प्रहरीले जनाएको छ ।

कार्की सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका हुन् भने भण्डारी दैनिक खबर च्यानलका सञ्चालक हुन् । त्यस्तै पक्राउ परेका अधिकारी हरेक पलको खबर च्यानलका सञ्चालक र तामाङ मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक रहेको प्रहरीले जनाएको छ । साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले उनीहरूलाई युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको आरोपमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा पक्राउ गरी मुद्धा चलाइएको जानकारी दिएका छन् । 

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्