दुई जित निकाल्दै पुलिस र गलकोट अग्र स्थानमा


काठमाडौँ, १५ असोज । नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौँ वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अङ्क तालिकामा अग्रस्थानमा रहेका छन् । 

पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सेटमा पराजित गर्दै अङ्क तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दवाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बि मा ६ अङ्कका साथ पहिलो स्थानमा रहेको हो ।

यसै गरी गलकोट स्पोर्टस् क्लबले पनि आफ्नो खातामा ६ अङ्क जोडेको छ । समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेश माथि जित निकाल्दै ३ अङ्क जोडेको थियो । यस्तै दोस्रो दिन पनि गलकोटले प्रदेश नं. २ माथि जित निकाल्दै थप तिन अङ्क जोडेको हो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो ।

सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेश माथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अङ्क जोडेको छ । समूह ए मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतीय खेलाडीहरूलाई प्रार्थमिकतामा राखेको छ । यस्तै जित निकाल्ने क्रममा भारतीय खेलाडीहरू सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३ – १ को जित निकाल्यो । दावाँली क्लबले प्रस्तुत गरेको निकै नै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित निकालेको हो । 

प्रतिक्रिया दिनुहोस्