बेलबारीका स्थानीयलाई ट्रिफर, ठेकेदारलाई दादाभत्ता आतंक


बेलबारी, १५ असोज । बेलबारी नगरपालिकाको लोहोन्द्रा खोला ठेक्का लागेसँगै सुरु भएको विवादले उत्खनन देखि भण्डारण कार्यसम्म आइपुग्दा पनि निरन्तरता पाउने गरेको छ । ठेक्का अवधिमा मापदण्ड विपरीत खोला उत्खनन कार्यको विवाद, ठेक्काको समय समाप्ति पछि खोलाजन्य सामग्री भण्डारणमा समेत विवाद सृजना भएको हो ।

यसअघि ठेक्का अवधिमा उत्खननको क्रममा मापदण्ड विपरीत भएको भन्दै स्थानीयले विरोध गरेका थिए । स्थानीयले विवाद गरे पछि जिल्ला समन्वयन समिति मोरङको अवलोकन पश्चात् केही समय उत्खनन रोकिएको थियो । लोहोन्द्रा पुलदेखि दक्षिण तर्फको भागमा मापदण्डभन्दा गहिरो उत्खनन भएकोले बाढी आएको बेलामा घडेरी कटान हुन सक्ने भन्दै स्थानीयले विरोध गरेका थिए । खोला गहिरिएसँगै खानेपानी लगायतका अन्य समस्याका विषयलाई लिएर विवाद विगतमा पनि नभएका भने हैनन् । यो विवाद निरन्तर रूपमा हुँदै आएको छ ।

बेलबारीमा जति पटक ठेक्का लागे पनि ठेकेदार र स्थानीयबिचको विवादको विषयले निरन्तरता पाउने गरेको छ । र त्यसले त्यतिकै चर्चा पनि पाउँदै आएको छ । 

बेलबारी नगरपालिकासँग २०७७ साल चैत ६ गते मोरङ कन्स्ट्रक्सन जेभी र कानेपोखरी बि एन्ड बिको मू.अ. कर र अग्रिम आयकर सहित चार करोड ८६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँमा खोला ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार ८१ हजार ९ सय ९५ घनफिट खोलाजन्य सामग्री उत्खनन तथा बिक्री गर्न पाउने सम्झौता रहेको थियो ।

२०७८ ज्येष्ठ मसान्तमा नै सम्झौता अवधि सकिएको थियो । तर स्थानीयले भने सम्झौताभन्दा बढी उत्खनन भएको बताउँदै आएका छन् । खोला धेरै गहिरिएको, मापदण्डभन्दा बढी उत्खनन भएको ठहर गर्दै चालु वर्षका लागि नगरपालिकाले खोला ठेक्का लगाएन । सम्झौताअनुसारको काम सकेर स्टक राखिएको खोलाजन्य सामग्री भण्डारणको विषय यतिखेर विवादित बन्न पुगेको छ ।

यस आर्थिक वर्षका लागि खोला ठेक्का नखोले पनि गत वर्षकै स्टक बेलबारीका विभिन्न स्थानमा रहेका छन् । स्टकको सामग्री उठाएर लैजाँदा सडक धुलाम्य भएको, स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै भण्डारण गरिएका स्थानबाट सामग्री उठाएर लग्ने क्रममा स्थानीयद्वारा ट्रिफर चलाउन अवरोध गर्दै आएका छन् ।

यही विषयलाई लिएर लोहोन्द्रा खोला उत्तरका स्थानीयले बुधवार र बिहीबार ट्रिफर चलाउन नै अवरोध गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख सरोज खनालले सहमति गरेर बिहीबार २ बजेदेखि बाटोको अवरोध हटाइएको बताएका छन् । 

त्यस्तै लालभित्ती दक्षिणका स्थानीयले पनि वैकल्पिक बाटो हुँदाहुँदै मुख्यबाटोबाट ट्रिफर चलाउँदा सडक धुलाम्य मात्र नभएर जनताको स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै ट्रिफर सञ्चालनमा रोक लगाएका थिए । उनीहरूले शुक्रपथको साटोमा लोहोन्द्रा खोलाको पुल नजिकको बाटो प्रयोग गर्न अनुरोध गरेका छन् । ट्रिफरको कारण अत्यधिक सडक दुर्घटना हुने सम्भावित डरले पनि आफूहरू मनोवैज्ञानिक रूपमा त्रसित बनेको बताएका छन् । स्थानीयहरू स्टकको अवधि सकिसकेकोले अब ट्रिफर चलाउन बन्द गर्नु पर्ने बताउँछन् । 

यसअघि २ महिनाको अवधि दिएर स्टक उठाइसक्न निर्देशन दिएको बेलबारी नगरपालिकाले जनाएको छ । तर नगरपालिकाले दिएको अवधिमा पनि स्टक उठाउने कार्य तत्काल भने सक्ने अवस्था छैन । ‘मिति नै तोकेर सामग्री उठाउनै पर्ने कानुनी प्रावधान नभए पनि स्थानीयलाई पर्न सक्ने समस्याको अवस्थालाई बुझेर चाँडो स्टक सामग्री उठाउन आग्रह गरेका छौँ’, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले भने । साथै यस पटक बेलबारी नगरपालिकाले खोला ठेक्का नलगाउने निर्णय गरेकोसमेत प्रमुख प्रशासकीय अधिकृत शाहले जनाएका छन् । 

स्थानीयले बाटो अवरोध गर्दै स्टक सामग्री चाँडो उठाउन माग गरेका छन् । तर ठेकेदार भने सरकारलाई सबै कर तिरे पछि स्टक गरिएको सामग्री उठाउन सम्बन्धित निकायले सहजीकरण गरिदिनु पर्ने बताउँछन् । ट्रिफर सञ्चालन तथा बाटो अवरोध सीमित व्यक्तिको कारण गरेको, गुन्डागर्दी गरेर भत्ता उठाउने मनसायले अवरोध गर्ने गरेको सम्बन्धित कम्पनी तथा ठेकेदारको आरोप रहेको छ । 

दादा भत्ता आतङ्कले स्टक सामग्री उठाउने कार्य प्रभावित भएको बताउँदै उक्त समस्याको समाधानको जिम्मेवारी नगरपालिका हुनु पर्ने सम्बन्धित कम्पनी तथा ठेकेदारको तर्क रहेको छ । बेलबारी १ निवासी विशाल थापाले दादा भत्ताकै लागि बाटो अवरोध गरेर ट्रिफर रोकेको भन्ने आरोप ठेकेदारले लगाएका छन् ।

स्टक गरिएको खोलाजन्य सामग्री मोरङ कन्स्ट्रक्सन जेभी र कानेपोखरी बि एन्ड बि को हो । मोरङ कन्स्ट्रक्सन जेभीका प्रमुख बेलबारीका सञ्जोक राई हुने भने कानेपोखरी बि एन्ड विका प्रमुख भूपाल श्रेष्ठ रहेका छन् । सञ्जोक राई भन्छन्, ‘कर तिरे पछि अवस्था र अवयस्कता अनुसार सामग्री उठाउने र राख्न पाउनु हाम्रो अधिकार हो । अवरोधमा समस्याको समाधान गर्न नगरपालिकाले सहजीकरण गर्नु पर्छ । हामी चाँडो स्टक उठाउन खोजिरहेका छौँ तर अवरोध भए पछि कसरी चाँडो उठाउनू ।’

प्रतिक्रिया दिनुहोस्