सुन्दररहैँचामा बजार अनुगमनको टोलीमा सहभागी भएका सञ्चारकर्मी माथि दुर्व्यवहार


सुन्दरहरैँचा, १६ असोज । बजार अनुगमनको टोलीमा सहभागी भएकासञ्चारकर्मी माथि सुन्दरहरैँचामा दुर्व्यवहार भएको छ । सुन्दरहरैँचा नगरपालिकाले शुक्रवार आयोजना गरेको बजार अनुगमन टोलीसँगै रहेका सञ्चारकर्मी द्वय शिव भट्टराई र रेवती निरौलामाथि व्यापारीबाट दुर्व्यवहार भएको हो । 

सुन्दरहरैंचा ७ स्थित गोठ गाउँमा रहेको विनोद किराना पसलमा अनुगमन गर्ने क्रममा पसलका सञ्चालक अनुरोध साहले अनुगमन टोलीमा रहेका सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका हुन् । 

अनुगमन गर्ने क्रममा पसल सञ्चालक र अनुगमन टोलीबिच भएको वादविवादको भिडियो खिचिरहेका सञ्चारकर्मी शिव भट्टराई भोजपुरेलाई किन मेरो भिडियो खिचेको भन्दै पसलका सञ्चालक अनुरोध साहले भट्टराईलाई धकेल्नुका साथै क्यामेरा खोस्ने प्रयास गरेका थिए । सोही दृश्य कैद गरिरहेका पत्रकार रेवती निरौलालाईसमेत साहुले भिडियो डिलिट गर्न दबाब दिएका थिए ।

अनुगमन टोलीले उक्त पसलबाट किरा परेको चामल, मिति सकिएको बिस्कुट, धनियाँ, मसला लगायतका समान जफत गरेको छ । उक्त घटनाको पत्रकार महासङ्घ मोरङ आपत्ति जनाएको छ । महासङ्घले विज्ञप्ति जारी गर्दै बजार अनुगमनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मी माथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ । महासङ्घ सचिव नेत्र पी अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मी माथि दुर्व्यवहार गर्नु, क्यामेरा खोस्ने प्रयास गर्नु तथा भिडियो डिलिट गर्न दबाब दिनु निन्दनीय कार्य भएको उल्लेख गरिएको छ ।

उक्त घटनाको उत्तरी मोरङका पत्रकारले समेत निन्दा गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस्