नेपाली काँग्रेस बेलबारी नगर सभापतिमा लिम्बू र भट्टराईमध्ये कसले जित्लान् ?


बेलबारी, १६ असोज । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि पालिकास्तरीय अधिवेशन आज सम्पन्न हुँदै छ । केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भए पनि धेरै स्थानमा भने चुनावी प्रक्रियाबाट आज नेतृत्व सम्बन्धी चयन हुँदै छ । 

मोरङ लगायत विभिन्न जिल्लाका पालिका स्तरको निर्वाचन आज अर्थात् असोज १६ का लागि मिति तोकिएको छ । आज हुने नगर सभापति र अन्य पदका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । 

यसै क्रममा बेलबारीमा नगर सभापतिका दुई जना प्रतिस्पर्धी देखिएका छन् । यी दुई जनाबिच कडा रूपमा प्रतिस्पर्धा हुने देखिएको छ । नगर सभापतिका लागि हालका नगर सभापति रहेका शम्भु भट्टराई, तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष छत्र लिम्बुले उमेद्वारी दिएका छन् ।  लिम्बू र भट्टराईबिच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । लिम्बु कोइराला र भट्टराई देउवा पक्षीय उम्मेदवारका रूपमा चिनिन्छन् ।

दुवै पक्षले आ–आफ्नो पक्षलाई जिताउन कडा मेहनत गरिरहेको देखिन्छ । दुवै पक्षले आ–आफ्नो पक्षको जीत सुनिश्चित रहेको बताइरहँदा त्यसको वास्तविक परिणाम भरे आजको निर्वाचनले निश्चित गर्ने छ । 

यसअघि सम्पन्न वडाको निर्वाचनको परिणामलाई हेर्ने हो भने चाहिँ कोइराला पक्ष मानिने लिम्बूको पल्ला भारी देखिएको छ । तर आफूमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएकोले आफ्नो जित निश्चित भएको भट्टराईको दाबी रहेको छ । दुवै पक्षले आफूले जित्ने दलिल पेस गरे पनि कसले जित्छन् भन्ने थाहा पाउन आजको निर्वाचनको परिणामलाई कुर्नु पर्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्