संसद् अवरोध गरेर एमालेले लोकतन्त्र र संविधानमाथिको हमला गरेको एकीकृत समाजवादीका महासचिव भुसालको भनाइ


काठमाडौँ, १७ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता बेदुराम भुसालले एमालेको संसद् अवरोध गरेर लोकतन्त्र र संविधानमाथिको हमला गरेको बताएका छन् । एकीकृत समाजवादीका महासचिव भुसालले शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । 

उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको टिप्पणी गरेका छन् । भुसालले भने, ‘राजनीति तरल अवस्थामै अगाडि बढ्ने क्रम जारी छ । अझै पनि स्थिरता प्राप्त भएको छैन । अझै पनि आशङ्का विद्यमान छ । विभिन्न दलभित्र अन्तरविरोध छन् । संसदलाई चल्न नदिने जुन खालको व्यवहार एमालेले गरिरहेको छ, त्यो लोकतन्त्रमाथिको हमला हो । एमालेको कदम निन्दनीय छ ।’

उनले अदालतमा विचाराधीन मुद्दामाथि संसद्मा छलफल हुन नसक्ने हुँदा एमालेको माग पुरा हुन नसक्ने पनि बताए । उनले भने ‘एमालेले जुन विषय उठाएर सदन अवरुद्ध गरिरहेको छ, त्यो गैरसंवैधानिक छ । एमालेले निरन्तर रूपमा त्यही विषय उठाएको छ ।’ 

भुसालले मन्त्रालय बाँडफाँड कुरा मिल्ना साथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्