पविन र सुरोजको जोडी क्वाटरफाईनलमा


काठमाडौँ, १७ असोज । आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी बालकुमारी रिमिक्स क्लब सातौँ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को क्वाटरफाईनलमा प्रवेश गरेका छन् । आयोजक टोलीले शुक्रवार सम्पन्न खेलमा ठेचो ब्याडमिन्टन क्लबका विशाल बस्नेत र इन्द्र कार्कीको जोडी २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् ।


आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा प्रयाग पोखरी ब्याडमिन्टन क्लबका उज्ज्वल दाहाल र सृजन ताम्राकारले जोडीले पनि जित निकाल्यो । उक्त जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का राजु घिमिरे र प्रवीण कार्कीको जोडीलाई २१–१७, २१–१२ ले पराजित गदै क्वाटरफाईनलमा स्थान बनाए । यस्तै क्वाटरफाईनलमा स्थान बनाउने क्रममा आयोजकका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीले क्लब ७ का विकास महर्जन र प्रदीप महर्जनको जोडीलाई २१–११, २१–१६ तथा दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का तीर्थराज दर्लामी र दिपेश गुरुङ्गको जोडीलाई २१–५, २१–१३ ले, ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडीले आयोजकका जेम्स अवाले र राजेन्द्र महर्जनको जोडीलाई २१–१४, २१–१९ले, तथा आयोजकका दिपेश शाक्य र सुनिल शाक्यको जोडीले रिभाईभ लिजर पार्कका राम के.सी. र अजय थापाको जोडीलाई २१–८ को समान अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।


भेट्रान्स ४५ माथिको प्रतियोगितामा श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सिताराम श्रेष्ठको जोडी, महालक्ष्मी टोल विकासका रञ्जित घतानी र रामु ताम्रकार, आयोजकका हरि महर्जन र रवी महर्जन, इमाडोल ब्याडमिन्टन स्पोर्टसका तिलक बुढाथोकी र दील बहादुर कदङ्गवा, आयोजकका किशोर ब्याञ्जनकार र दिलन महर्जन, फ्रेन्डसिप ब्याडमिन्टन क्लबका सानुबाबु महर्जन र राजकुमार राजकर्णिकार, सनराईज ब्याडमिन्टन क्लबका दीपक राना र टिका थापा तथा आयोजकका पूर्णभक्त चित्रकार र सुगत रत्न शाक्यको जोडीले पनि अन्तिम आठमा स्थान बनाए ।

प्रतिक्रिया दिनुहोस्