बेलबारीमा व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘मुखास्त्र’को लोकार्पण


बेलबारी, १९ असोज । वरिष्ठ व्यङ्ग्य निबन्ध सर्जक भैरव अर्यालको ४५ औँ स्मृति दिवसको अवसरमा बेलबारीमा व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘मुखास्त्र’ को लोकार्पण भएको छ । छावा प्रकाशन बेलबारीले प्रकाशन गरेको उक्त संयुक्त व्यङ्ग्य निबन्ध सङ्ग्रहको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले विमोचन गरेका थिए । १ नं प्रदेशभरिका १४ वटै जिल्लाका ३३ वटा रचना समेटिएको उक्त कृतिको सम्पादन बेलबारीका साहित्यकार ईरानराईले गरेका छन् ।                                                                                                   

विमोचन कार्यक्रमका विशेष अतिथिको रूपमा रहेका, भैरव आर्याल पुरस्कार गुठीका संरक्षक रोचक घिमिरे, प्राज्ञ नरनाथ लुइँटेल, सिस्नो पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, साहित्यकारहरू देवी पन्थी, प्रेम ओझा, मिश्र बैजयन्ती, हरि कट्टेल, टीका आत्रेय, तीला लेकाली लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा साहित्यिक विशिष्ट पाहुनाहरूलाई स्वागत गर्न पाउँदा आफूलाई साह्रै खुसी लागेको विचार व्यक्त गरे । साथै नगरप्रमुख सुवेदीले नगरपालिका कला साहित्यलाई व्यवस्थित गर्नेक्रममा रहेको पनि बताए ।             

कार्यक्रममा बेलबारीमा जन्मिएर भाषा तथा साहित्यमा योगदान दिने डम्बर विकेललाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरूले आ–आफ्ना साहित्यिक रचनासमेत वाचन भएका थिए । 

छावा प्रकाशनका अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कलाकार जेबी थुलुङको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्