व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘मुखास्त्र’सँगै साहित्यमय बनेको बेलबारी


बेलबारी, २० असोज । कोरोनाका कारणले देशै अस्तव्यस्त हुँदा साहित्य त्यसबाट अछुतो रहने कुरै आएन् । सिर्जनालाई कोरोनाले नरोके पनि कोरोनाले साहित्यको प्रशासन र त्यसको वितरणलाई भने ठूलो असर पुर्‍यायो । यो अवधिमा साहित्यिक गतिविधि थप्पै भए । भौतिक रूपमा भेला भएर गरिने कुनै पनि साहित्यिक गतिविधि हुन सकेनन् । सबै कुरा अनलाइनभित्र सीमित रहे । तर कोरोनाका कारण अनलाइनमै सीमित भएको साहित्यिक गतिविधि अनलाइनबाट बाहिर आउने क्रममा छन् ।

यही क्रममा मङ्गलवार बेलबारीमा वरिष्ठ व्यङ्ग्य निबन्ध सर्जक भैरव अर्यालको ४५ औँ स्मृति दिवसमा एक कार्यक्रमको आयोजना भयो । यस कार्यक्रमले रोकिएका साहित्यिक गतिविधिलाई पुनः लयमा ल्याउने काम गरेको छ । कोरोना काल पछि संचालन् गरिएको कार्यक्रमलाई एउटा महत्त्वपूर्ण कार्यक्रमका रूपमा लिन सकिन्छ ।

यो कार्यक्रमले लामो समयदेखि साहित्य र पाठकबिच टाढिएको सम्बन्धलाई जोड्ने काम गरेको छ । यसरी पाठक र सर्जकबिचको सम्बन्धको सेतुको काम गरेको थियो बेलबारीमा रहेको छावा प्रकाशनले । ‘छावा प्रकाशन’ बेलबारी स्थापना भएर लामो समयसम्म साहित्यिक गतिविधि गरे पनि पछिल्लो समय भने निष्कृय रहँदै आएको संस्था हो । यो संस्था बेलबारी साहित्य विकास समितिको गठनसँग ओझेलमा परेको देखिन्छ ।

त्यसो त बेलबारीमा भएको यस्तो साहित्यिक जमघट नयाँ भने होइन । बेलबारीमा बेलाबेलामा यस्ता साहित्यिक कार्यक्रम हुँदै आएका छन् । बेलबारीले यसअघि पनि क्षेत्रीय तथा राष्ट्रियस्तरका कार्यक्रमको संचालन् गर्दै आएको थियो । त्यसो त बेलबारीले पछिल्लो समय नेपाली साहित्यमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ । साहित्यको महत्त्व बुझेको राजनैतिक नेतृत्व भएका कारणले पनि बेलबारीलाई यस्ता गतिविधि संचालन् गर्न सहयोग पुगेको कुरालाई नकार्न मिल्दैन ।

बेलबारी त्यस्तो स्थानीयपालिका हो जसले हरेक वर्ष कला–साहित्यमा बजेट छुटाउँदै आएको छ । बेलबारी नगरपालिकाले यसै आर्थिक वर्षको रातो किताबमै ‘बेलबारी कला–साहित्य प्रतिष्ठान’को भवन निर्माणका लागि १५ लाखको बजेट छुट्याइनुले पनि बेलबारीले कला साहित्यलाई कति महत्त्व दिएको छ भन्ने राम्रो उदाहरणको रूपमा लिन सकिन्छ । 

मङ्गलवार वरिष्ठ व्यङ्ग्य निबन्ध सर्जक भैरव अर्यालको ४५ औँ स्मृति दिवसको अवसरमा सर्जक इरान राईद्वारा सम्पादित व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘मुखास्त्र’को लोकार्पण भएको छ । छावा प्रकाशन बेलबारीले बजारमा ल्याएको उक्त संयुक्त कृतिको विमोचन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले विमोचन गरेका थिए । विमोचित कृति ‘मुखास्त्र’मा प्रदेश नं १ का १४ वटै जिल्लाका ३३ जना लेखकहरूका रचना समेटिएको छ । 

उक्त कार्यक्रमका लागि भैरव आर्याल पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे, साहित्यकार तथा अन्वेषक अनिल पौड्याल, प्राज्ञ नरनाथ लुइँटेल, सिस्नो पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाँगे लगायतका स्रष्टाहरू राजधानीबाट बेलबारी आएका थिए । 

कार्यक्रममा स्रष्टा एवम् समालोचक मिश्र बैजयन्ती, टीका आत्रेय, प्रेम ओझा, देवी पन्थी, हरि कट्टेल आदि स्रष्टाहरू पनि बेलबारीमा आयोजना भएको कार्यक्रममा उपस्थित थिए भने बेलबारीमै स्थायी बसोबास भएका पूर्व सांसद एवम् स्रष्टा हर्कमान तामाङ, संविधान सभा सदस्य एवम् गीतकार मधु गुरुङ, संस्कृतिविध रमेश कुमार लामा, बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तीला लेकाली, धनजीत पराजुली, बादल देवी चाम्लिङ, उमा सिजापति लगायतका स्रष्टाहरूको पनि सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा हिरा खड्का, शीतल राय, भानु सोनाली गुरुङ, लक्ष्मी सुवेदी लगायतका पछिल्लो समय साहित्यमा कलम चलाउने स्रष्टाहरूकोसमेत सहभागिता रहेको थियो ।  उक्त कार्यक्रममा साहित्यका पाठकहरू मात्र नभएर गीत सङ्गीत तथा राजनैतिक क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूकोसमेत सहभागिता रहेको थियो ।

बेलबारी नगरपालिकामा रहेको जनजाति सभा हलमा आयोजित उक्त कार्यक्रममा लामो समयदेखि साहित्य साधनाका लागेका महत्त्वपूर्ण व्यक्तित्वहरू र साहित्यलाई माया गर्ने पाठको जमघट रहेको थियो ।                                                                 

कार्यक्रममा पत्रकारितासँगै साहित्यको क्षेत्रमा लामो समयदेखि साधनारत धनकुटेली स्रष्टा रमेश चन्द्र अधिकारीको व्यङ्ग्य कविता, पत्रकार एवम् स्रष्टा प्रेम ओझाको व्यङ्ग्य गजल, स्रष्टा एवम् समालोचक देवी पन्थीको अङ्ग्रेजी भाषाको गजल र स्रष्टा हरि कट्टेलको जनयुद्धको परिवेश झल्कने छन्दबद्ध कविताले पनि कार्यक्रमको रौनकतालाई थपिदिएको थियो ।   

भैरव अर्यालका समकक्षीको रूपमा रहेका भैरव अर्याल पुरस्कार गुठीका अध्यक्ष एवम् कार्यक्रमका विशेष अतिथिसमेत रहेका रोचक घिमिरेले वरिष्ठ सर्जक स्व. भैरव अर्याल र बेलबारीका सर्जक स्व. पुण्य सुवेदीका बारेमा सुनाएका प्रसङ्गले कार्यक्रमको माहौललाई अझ साहित्यमय बनाएको थियो । उनले भैरव अर्याल र सुवेदीसँग जोडिए विभिन्न प्रसङहरु सुनाएका थिए । 

साथै कार्यक्रममा व्यङ्ग्य सङ्ग्रहमा सङ्ग्रहित रचनाका लेखकहरूको तर्फबाट आचार्य अ, लालकुमार श्रेष्ठ, मिश्र बैजयन्ती, डा. मोहन तुम्बाहाङ, शरण राई, हर्कमान तामाङ, लक्ष्मण गाम्नाँगे, लगायतका सर्जकले राखेको विचारलेसमेत कार्यक्रममा मिठास थपेको थियो ।                                                                       

कार्यक्रममा बेलबारीमा जन्मिएर भाषा तथा साहित्यमा योगदान पुर्‍याउने डम्बर विकेललाई सम्मान गरिएको थियो ।  मुख भएर मात्र हुन्न त्यसलाई सही तरिकाले चलाउनु पर्छ भन्ने अभिप्रायले यस सङ्ग्रहको नामकरण मुखास्त्र राखिएको कृतिका सम्पादक इरान राईले प्रस्ट पारेका थिए ।  छावा प्रकाशनका अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कलाकार जेबी थुलुङको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्