पाँचथरमा उपचाररत बालिकाको निधन भए पछि अस्पताल तनावग्रस्त


पाँचथर, २० असोज । पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको मृत्यु भए पछि अस्पताल क्षेत्र तनावग्रस्त बन्न पुगेको छ ।फिदिम नगरपालिका–२ की ३ वर्षीया क्रिष्टिना थाम्सुहाङको बुधवार मृत्यु भएको हो । इन्जेक्सन लगाउनेवित्तिकै बालिकाको निधन भए पछि डाक्टरको लापरबाहीले गर्दा मृत्यु भएको भन्दै आफन्तले लास बुझ्न नमाने पछि तनावग्रस्त भएको हो ।


बालिकालाई ज्वरो आएपछि १९ गते मात्र जिल्ला अस्पताल भर्ना गरिएको थियो । उक्त घटनालाई लिएर मृतकका आफन्तहरूले स्वास्थ्यकर्मीका लापरबाही भन्दै शव बुझ्न मानेका छैनन् ।


उपचार पछि स्वास्थ्यमा सुधार भए पछि बालिकालाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको थियो । तर राउन्डमा आएका चिकित्सकले सुइ लगाई दिए लगत्तै बालिकाको निधन भएको मृतकका आफन्तले जनाएका छन् ।


बेडमा आमासँग गफ गर्दै खाजा खाएकी बालिका सुइ लगाउने बित्तिकै चिच्याएर बेहोस भएको २ मिनेट नबित्दै निधन भएको उनका आफन्तले जनाएका छन् । स्वास्थ्यकर्मीको लापरबाही आफ्नी भतिजीको मृत्यु भएको मृतकका काका युवराज थाम्सुहाङले दाबी गरेका छन् । अस्पतालले चित्तबुझ्दो जवाफसहित घटनाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनको भनाइ रहेको छ । तर अस्पतालले भने ‘एनाफाइलाटिक सक’ का कारण बालिकाको निधन भएको हुनसक्ने बताएको छ ।     

प्रतिक्रिया दिनुहोस्