नेपालले अर्डर गरेको १० लाख डोज कोभिसिल्ड खोप भारतबाट अर्को साता नेपाल आउने


काठमाडौँ, २० असोज । नेपालले खरिदका लागि ‘अर्डर’ गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप भारतबाट अर्को साता नेपाल आउने भएको छ ।नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बुधवार परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर यस्तो जानकारी दिएका हुन् । 

नेपालमा हालसम्म भारत सरकारको अनुदानबाट १० लाख डोज, नेपाल सरकार आफैले खरिद गरेको १० लाख डोज आइसकेको छ । त्यसै गरी भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज र कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज गरी कूल २४ लाख ४८ हजार डोज खोप नेपाल आइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले एक वर्षअघि नै २० लाख डोज खोप खरिदका लागि खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई ८० प्रतिशत रकम भुक्तानी गरेको थियो । त्यसमध्ये १० लाख डोज खोप नेपाल आइसकेको छ । तर बाँकी १० लाख डोज खोप आउन बाँकी नै थियो । 

मन्त्री खड्कालाई भेट्न राजदूत क्वात्रा बुधवार अपराह्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्