पाकिस्तानमा गएको शक्तिशाली भूकम्पमा परेर १८ जनाको मृत्यु


काठमाडौँ, २१ असोज । पाकिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर १८ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज बिहानै गएको भूकम्पमा परेर कम्तीमा १८ जनाको ज्यान गएको हो ।

पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार भूकम्पले धेरै संरचनाहरू भत्किएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा सहरमा मानिसहरू सडकमा निस्केका बीबीसीले जनाएको छ ।

५.७ म्याग्निच्युडकोे अनुमान गरिएको भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको मृत्यु भएको बताइएको छ । स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार घटनामा करिब ५० जना घाइते भएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

भूकम्पमा परेर १८ जनाको मृत्यु भएको बताइए पनि भूकम्पको पछिल्लो तथ्याङ्क आउन बाँकी नै रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्