मृत्यु भएको १८ दिन पछि सुन्दरहरैँचाकी रोजिनाको आज सद्गति हुँदै


बेलबारी, २१ असोज । मृत्यु भएको १८ दिन पछि आज (बिहिवार) सुन्दरहरैँचाकी रोजिना गिरीको सद्गति हुने भएको छ । रोजिना सासू, जेठाजु र जेठाजुविरुद्ध किटानी जाहेरी पश्चात् उनीहरूलाई पक्राउ गरी मुद्दा दर्ता भइसकेकोले लास राखिरहनु उपयुक्त नभएको भन्दै सद्गति गरिन लागिएको माइत पक्षले बताएका छन् । 

रोजिना सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन । आत्महत्या गरेको नभएर रोजिनाको हत्या भएको भन्दै उनका आफन्तले सद्गति गर्न मानिरहेका थिएनन् । यता प्रहरीले किटानी जाहेरी र माइती पक्षको दबाब पछि प्रहरीले मृतक रोजीका सासू, जेठानी र जेठाजुलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानसम्बन्धी अभियोगमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जनाएका छन् । 

उर्लाबारी नगरपालिका वडा नं ८ दुर्गापुरी माइती भएकी रोजी असोज ३ गते आइतवार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन । प्रहरीले वडाध्यक्षको रोहबरमा उनको कोठा फोडेको थियो । आधा खुट्टा बाहिर र शरीर चाहिँ बक्स पलङमा रहेको, सिरानी च्यापेर घोप्टो परेको अवस्थामा रोजिना शव फेला परेको थियो । सलको पासोले सिलिङ फेनमा  झुण्डिएर आत्महत्या गरिएको भनिए पनि यो आत्महत्या नभएर हत्या भएको, हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाउँदै आएका छन् ।

घटनाको प्रकृति हेर्दा आत्महत्या गरिएको जस्तो नदेखिएको, परिवारकै सदस्य मिलेर हत्या गरिएको आफूहरूको आशङ्का रहेको, सोही अनुसार अदालतमा मुद्दा दर्ता गरिएको मृतक रोजिनाका पिता धर्म गिरी बताउँछन् । 

असोज ५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पोस्टमार्टम गरेर रोजिनाको शव भने उर्लाबारीस्थित मङ्गलवारे अस्पतालमा राखिएको छ । आज त्यहीबाट ल्याएर बेलबारीस्थित लोहान्द्रा नदीमा सद्गति गर्न लागिएको मृतक रोजिनाका काका चक्र गिरीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्