उपचाररत बालिकाको मृत्यु भएपछि पाँचथर अस्पतालमा तोडफोड


फिदिम, २१ असोज । जिल्ला अस्पताल पाँचथरमा उपचाररत तीन वर्षीय बालिकाको मृत्यु भए पछि जिल्ला अस्पतालमा तोडफोड भएको छ । फिदिम नगरपालिका–२ की ३ वर्षीय क्रिष्टिना थाम्सुहाङको मृत्यु भए पछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । 

१९ गते जिल्ला अस्पताल भर्ना भएकी बालिकाको इन्जेक्सन लगाउनेवित्तिकै निधन भए पछि डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले लास बुझ्न मानेका थिएनन् । अस्पताल प्रशासन र मृतक बालिकाका आफन्तहरूबिच बुधवार दिनभर भएको वार्ता निष्कर्षविहीन भएपछि साँझ अस्पताल परिसर रणमैदानमा परिणत बनेको थियो ।  

अस्पतालका झ्यालढोकाहरु तोडिएका छन् । आकस्मिक कक्षमासमेत इटा र ढुंगाहरु थुप्रिएका थिए । आन्दोलनकारीलाई तितरबितर पार्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । अस्पतालमा हुलदङ्गा नरोकिएपछि प्रहरीले दर्जनौँ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

अस्पतालका सूचना अधिकृत नारायण जोशीले ठोस निष्कर्षमा नपुगेसम्म आकस्मिक सेवा बाहेकका अस्पतालका सबै सेवाहरू बन्द गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्