बेलबारी ९ मा दुर्गा मन्दिर निर्माण कार्य सम्पन्न : घटस्थापनाको दिन समुद्घाटन


बेलबारी, २२ असोज । बेलबारी वडा नं. ९ स्थित डाँगीहाटमा नव निर्मित दुर्गा मन्दिरको समुद्घाटन भएको छ । बिहीबार घटस्थापनाको दिन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले मन्दिरको प्रङ्गनभित्रै नगरपालिकाको आर्थिक सहयोगमा ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने बताएका छन् । मन्दिर घेराबारा तथा नजिकै रहेको परम्परागत हाट बजारको व्यवस्थापनको लागि टहरा तथा सामुदायिक भवन दुवै प्रयोजनको रूपमा हुने गरी संरचना निर्माणको योजना रहेको सुवेदीले जनाएका छन् ।

उक्त योजनाहरूको साथै सार्वजनिक शौचालय पनि यसै आर्थिक वर्ष भित्र निर्माण गर्ने सुवेदीले बताए । नवरात्रिको आरम्भसँगै दुर्गा मन्दिरमा बिहीबार देखी नै पूजा सुरु भएको छ । नजिकिँदै गरेको देशैको शुभकामना व्यक्त गर्दै नगर प्रमुख सुवेदीले कोरोनाको संक्रमण अझै नसकिएको हुँदा आउँदै गरेको तिहार, छठ, उँधौली लगायतको चाडपर्व सावधानी पूर्वक मनाउन आग्रह गरेका छन् । 

मन्दिर निर्माणको लागि ४७ लाख ६ हजार ९ सय १ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको र ४४ लाख ९१ हजार ३ सय २० रुपैयाँ खर्च भएको दुर्गा मन्दिर निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्माण उपभोक्ता समितिका अनुसार प्रदेश सरकारबाट रु.२३ लाख १५ हजार ७ सय ४६ र बेलबारी नगरपालिकाबाट रु.६ लाख ६६ हजार ५०० र बाँकी स्थानीयहरुको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको दुर्गा मन्दिर निर्माणको आर्थिक समिति संयोजक शालिग्राम बस्नेतले जनाएका छन् । साथै विरेन्द्र बस्नेतले रु ७ लाख बराबरको मूर्ति उपलब्ध गराएको पनि आर्थिक समितिका संयोजक बस्नेतले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.९ का वडाध्यक्ष नगेन्द्र खड्काले प्रदेश सरकार, नगरपालिका र स्थानीयलाई धन्यवाद व्यक्त गरेका छन् । खड्काले देशैको शुभकामना व्यक्त गर्दै चाडपर्व मनाउनको साथै सावधानी अपनाउन, कोरोनाबाट जोगिन आग्रह समेत गरेका छन् । दुर्गा मन्दिर निर्माणको शिलान्यास २०७७ माघ १६ गते पूर्व राज्यमन्त्री राजकुमार ओझाद्वारा भएको थियो ।

करिब ८ महिना पश्चात् दुर्गा मन्दिरको निर्माण कार्य स्थानीय गणेश अधिकारीको नेतृत्वमा सम्पन्न भएको हो । दुर्गा मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश अधिकारीले आर्थिक सहयोग गर्ने प्रदेश सरकार, नगरपालिका, वडा कार्यालय साथै स्थानीयलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि ९ नं. वडा भित्र हुने विकास कार्य योजनामा निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्