अमना सिसौलीको पाँचौँ साधारण सभा सम्पन्न : लीला आचार्यको अध्यक्षतामा नयाँ समिति गठन


बेलबारी, २३ असोज । बेलबारीमा रहेको अमना सिसौली सामुदायिक वनले शुक्रवार एक कार्यक्रमबिच आफ्नो पाँचौँ साधारण सभा सम्पन्न गरेको छ । मोरङ नेत्रहीनसङ्घको सभा हलमा सम्पन्न साधारण सभाको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।                                     

उक्त कार्यक्रममा जिल्ला डिविजनल वन कार्यालय मोरङका प्रमुख अनिरुद्ध शाह, सब डिभिजन कार्यालय  बेलबारीका प्रमुख दिनेश मिश्र, समितिका लेखा संयोजक शान्तिराम गिरी, सामुदायिक वन महासङ्घ नगर समिति बेलबारीका अध्यक्ष देवीप्रसाद पोखरेल, माओवादी केन्द्रका बेलबारी नगर अध्यक्ष पर्शुराम सुवेदी, बेलबारी बहुमुखी सहकारीका अध्यक्ष प्रताप थापा, आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति बेलबारीका अध्यक्ष तिलक राई, बेतना सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेत लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले विश्वव्यापी रूपमा फैलिएको कोरोनाको व्यवस्थापनमा लाग्नु पर्दा प्रयाप्त समय दिन नसके पनि नगरपालिकाले सामुदायिक वनको व्यवस्थापनमा लागिरहेको बताए । नगरप्रमुख सुवेदीले चुनिएर आउने समितिलाई अग्रिम बधाई तथा शुभकामना दिँदै नयाँ नेतृत्वले जनभावनाअनुसार काम गर्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला डिभिजनल वन कार्यालय मोरङका प्रमुख अनिरुद्ध शाहले सामुदायिक वनमा धेरै सम्भावना भएको तर सम्भावनाअनुसार त्यसको फाइदा लिन नसकिएको बताए । सामुदायिक वनले सामूहिकताका आधारमा अघि बढ्नु पर्नेमा उनको जोड रहेको थियो ।                                             

 कार्यक्रममा अमना   सिसौली सल्लाहकार एवम् बेलबारी बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रताप थापा, बेतना सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेत, सामुदायिक वन  महासङ्घका नगर अध्यक्ष देवीप्रसाद पोखरेल, नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय समितिका अध्यक्ष तिलक राई, माओवादी केन्द्रका बेलबारी नगर अध्यक्ष पर्शुराम सुवेदी लगायतकाले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

निर्धारित समयमा कार्यक्रम सुरु नहुने, सुरु भएर पनि योजनाबद्ध रूपमा कार्यक्रम संचालन् नहुने प्रवृत्ति पछिल्लो समय बेलबारीकै समस्याको रूपमा रहेको देखिन्छ । एउटा समय दिइने तर त्यसको घण्टौँसम्म पनि कार्यक्रम सुरु नहुने प्रवृत्ति हाबी देखिन्छ । उक्त कार्यक्रममा त्यही हालत देखिन्थ्यो । ११ बजेलाई भनेर निम्तो गरिए पनि कार्यक्रम भने १ बजे पनि सुरु हुन सकेको थिएन । 

कार्यक्रममा बोल्ने अधिकांक्ष वक्ताहरूले यही दुखेसो व्यक्ति गरिरहेका थिए । समय महत्त्व बुझेर निर्धारित समयमै कार्यक्रमको सञ्चालन हुनु पर्ने सुझाव दिइरहेका थिए । साथै उनीहरूले सामुदायिक वनहरूले जनताका आवश्यकता अनुसार काम गर्न नसकेको, एउटै व्यक्ति धेरै ठाउँमा जिम्मेवारी लिने तर समयको व्यवस्थापन गर्न नसक्दा कतै पनि काम नहुन गुनासो गर्दै थिए । स्थानीय सरकारले यसको नियमित अनुगमन गर्नु पर्नेमा उनीहरूको जोड रहेको थियो । 

साथै आजै सम्पन्न पाँचौँ साधारण सभाको बन्द सत्रले लीला प्रसाद आचार्यको अध्यक्षतामा २१ सदस्सीय मूल कार्य समितिको चयन गरेको छ । समितिका उपाध्यक्षमा रामहरि कोइराला, महिला उपाध्यक्षमा विमला राई, सचिव शर्मिला लुङेली मगर, सह–सचिव नवराज राई, कोषाध्यक्ष भोजराज बस्नेत चुनिएका छन् ।

साथै समितिका सदस्यहरूमा अखिल बराल, नारायण धिमाल, शान्तिराम गिरी, सोम काफ्ले, मनोज सुबेदी, शकुन्तला सुबेदी, दिलकुमारी राई, लोकहाङ सुब्बा, चन्द्र राई, सञ्जीव राई, गोविन्द लिम्बू, अलन खवास, मञ्जु कार्की, समसेर धिमाल र गोपाल सुबेदी चुनिएका छन् । 

साथै विन्दुकला गुरुङको अध्यक्षतामा लेखा र गङा ब श्रेष्ठको संयोजकत्वमा अनुगमन समितिको चयन भएको छ ।                                                          

प्रतिक्रिया दिनुहोस्