बेलबारीमा मासुपसलहरुको अनुगमन


बेलबारी, २४ असोज । चाडबाडका आडमा हुने, कालोबजारी र मूल्य वृद्धिलाई नियन्त्रण गर्दै खाद्य स्वच्छता कायम गने उद्देश्यले बेलबारी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ । यस क्रममा नगरपालिकाले शनिवार नगरभित्र सञ्चालित खाद्यान्न तथा मासु पसलहरूको अनुगमन गरेको थियो ।

नगर उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा शनिवार बेलबारी नगरपालिकाका वडा नं ५, ६ र ७ का बजारहरूका खाद्यान्न तथा मासु पसलहरूको अनुगमन गरेको थियो ।  ती वडाका कसेनी, सोमबारे र बाहुनी बजारमा गरिएको अनुगमनका क्रममा केही मासु पसलहरूले आधारभूत सर सफाइका मापदण्डसमेत नअपनाई सञ्चालन गरेको पाइएको नगर उपप्रमुख पराजुलीले बताइन् ।                   

उपभोक्ता हित संरक्षण समितिका संयोजकसमेत रहेकी पराजुलीले केही मासु पसलहरू सरसफाइ तथा स्वास्थ्यका न्यूनतम मापदण्डसमेत पुरा नगरी सञ्चालन गरेको पाइएकोले सञ्चालकहरूलाई स्वास्थ्य र स्वच्छतालाई मध्यनजर गरेर मात्र पसल सञ्चालन गर्नु पर्ने बताइन् । उनले त्यस खाले लापरबाहीले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने भएकोले पसलहरूलाई स्वास्थ्य तथा सर सफाइका सबै मापदण्ड तत्काल पुरा गर्न चेतावनी सहित सचेत गराइएको तर तत्काल पसलहरू व्यवस्थित एवम् सुधार नगरे कारबाहीसमेत गरिने बताइन् ।

अघिल्लो पटक अनुगमन गर्दा सचेत गराइएका पसलहरूको अवस्था भने हाल सुधार आएको पाइएकोले समितिले ती पसल सञ्चालकलाई धन्यवाद व्यक्त गरेको छ । अनुगमन टोलीले मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी नगर्न तथा आम  उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरेर खाद्य सामग्री विक्री गर्न व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

केही मासुपसलहरु सडकको क्षेत्राधिकारभित्र सञ्चालन भएको पाइएको र केही पसलहरू भने दर्ता अनुमति बिना नै सञ्चालन गरेको पाइएकोले वैधानिक तवरले पसल सञ्चालन गर्न निर्देशन दिइएको बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्