मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै


काठमाडौँ, २४ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछिन् । एमाले विभाजन भएर नयाँ दल एकीकृत समाजवादी गठन भएसँगै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेकी हुन् ।

आइतबार दिउँसो ३ बजेका लागि विश्वासको मत लिने कार्यक्रम रहेको छ । हाल बागमती प्रदेशमा कुल १०९ जना सांसद सङ्ख्या रहेको छ । ११० सदस्य रहेको प्रदेशसभामा कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली रहेको छ ।

बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका सभामुखसहित हाल ४३ जना मात्रै सांसद रहेका छन् । उता विपक्षी गठबन्धनले बागमती प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएकोले गर्दा शाक्य नेतृत्वको सरकाले ढल्ने पक्काजस्तै देखिएको छ । 

माधव नेपालनिकट मानिने शाक्यले पार्टी विभाजनसँगै नेपालको साथ छाडेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्