बेलबारी साहित्य विकास समितिको शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम


बेलबारी, २४ असोज । लामो समयदेखि बेलबारीको कला साहित्यको क्षेत्रमा काम गर्दै आएको संस्था बेलबारी साहित्य विकास समितिले दसैँ, तिहार तथा छैठको अवसर पारेर शुभकामना आदान प्रदान तथा रचना वाचन गर्दै आफ्नो १२ औँ नियमित साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ ।      

बेतना सिमसारको सभा हलमा सम्पन्न कार्यक्रममा प्राज्ञ डा. देवी नेपाल प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली (तारा), लोकगायक तथा संस्कृतिकर्मी मधु गुरुङ, नाटककार भरत गुरागाईँ ‘बर्बरिक’, इरान राई, जेबी थुलुङ लगायतको उपस्थिति रहेको थियो ।                                                

कार्यक्रमका प्रमुख अतिथि डा. देवी नेपालले बेलबारीले कला र साहित्यका क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै आफू बेलबारीमा आउन पाएकोमा खुसी व्यक्ति गरे । साथै नेपाल प्रज्ञा प्रतिष्ठानको बालसहित्य विभागका प्रमुखसमेत रहेका नेपालले बेलबारीसँग सहकार्य गरेर चाँडै एउटा बृहत् साहित्यिक कार्यक्रम गर्न तयार रहेको पनि बताए । 

उनले भने ‘बेलबारीले कला साहित्यको क्षेत्रमा राम्रो काम गरिरहेको छ । धेरै ठाउँमा मैले बेलबारीको उदाहरण दिने गरेको छु । साहित्यिक व्यक्तिले राजनैतिक नेतृत्व सम्हालेका कारणले पनि यस्तो भएको हो । बेलबारीसँग सहकार्य गरेर प्रज्ञा प्रतिष्ठान एउटा बृहत् साहित्यिक कार्यक्रम गर्न तयार रहेको छ । बेलबारी साहित्य विकास समितिले त्यसको प्रस्ताव तयार पारोस् ।’

बेलबारी नगरपालिकाका उपप्रमुख एवम् स्रष्टा ढाकाकुमारी पराजुली ‘तारा’ले कला र साहित्यको विकासमा नगरपालिका लागिरहेको बताइन । साथै उनले टाढाबाट बेलबारी साहित्य विकास समितिले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएकोमा स्वागतसमेत गरिन् ।                                             

उक्त कार्यक्रममा युवराज ठकुरी, सरोज दर्नाल, मुना मिश्र, रोहिणी रसिक, रमेश निरौला, अनुज्ञा नेपाल, प्रविज्ञा नेपाल, विनोद रिजाल, भरत गुरागाईँ ‘बर्बरिक’, विष्णु भण्डारी, किशोर कोईराला, रेखा सुवेदी, शिव छाङ्छा राई, लक्ष्मी श्रेष्ठ, लगायतका दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरेका थिए । 

संस्थाका अध्यक्ष तीला लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव धनजित पराजुलीको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्