कला साहित्यका क्षेत्रमा बेलबारीले ठूलो प्रगति गरेको छ : डा. देवी नेपाल


बेलबारी, २५ असोज । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ देवी नेपालले बेलबारीले कला साहित्यका क्षेत्रमा ठूलो प्रगति गरेकोमा खुसी व्यक्त गरेका छन् । बेलबारी साहित्य विकास समितिले आइतवार दसैँ, तिहार, छैठ तथा अन्य चाडहरूको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

 
नेपाल प्रज्ञा प्रतिष्ठानको बाल साहित्य विभागका प्रमुखसमेत रहेका नेपालले आफू छन्द र गैर छन्दकाबिचमा देखिएको अतिवादी विचारको विरुद्धमा रहेको बताउँदै कविता लयविहीन चाहिँ हुन नसक्ने बताए । छन्दको राम्रो ज्ञान भएका नेपालले छन्दमा लेख्दैमा रचना सशक्त हुन्छ भन्ने तर्क गलत रहेको, छन्दका साथमा कवितामा विचारपक्ष पनि त्यतिकै सशक्त हुनुपर्ने बताए ।     

उनले निरासावादी साहित्यले कसैको भलो नगर्ने भएकोले साहित्यले सधैँ आसाको दीयो बाल्नुपर्ने बताए । सर्जकले सिर्जनामार्फत गलत कुराको विरोध गर्दै समाजलाई असल मार्गमा चल्न अभिप्रेरणा प्रदान गर्नुपर्ने बताए ।


बेलबारी साहित्य विकास समितिको नियमित शृङ्खलामा पर्ने साहित्यिक परिक्रमा प्राज्ञ डा.देवी नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली (तारा), लोकगायक तथा संस्कृतिकर्मी मधु गुरुङ, नाटककार भरत गुरागाईँ ‘बर्बरिक’, ईरानराई, लगायत दुई दर्जनभन्दा बढी सर्जकको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि डा. देवी नेपालले बेलबारीले कला र साहित्यका क्षेत्रमा गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै आफू बेलबारीमा आउन पाएकोमा खुसीसमेत व्यक्ति गरे ।

 
नेपाल प्रज्ञा प्रतिष्ठानको बालसहित्य विभागका प्रमुखसमेत रहेका नेपालले बेलबारीसँग सहकार्य गरेर चाँडै एउटा बृहत् साहित्यिक कार्यक्रम गर्न तयार रहेको त्यसको लागि प्रस्ताव ल्याउन बेलबारी साहित्य विकास समितिसँग आग्रहसमेत गरे ।  

प्रतिउत्तरमा कार्यक्रमको सभापतित्व गरिरहेकी बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तीला लेकालीले आफूहरू प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गर्न तयार रहेको बताइन् । उनले आफूहरू चाँडै समितिमा सल्लाह गरेर कार्यक्रमको बारेमा प्रस्ताव पेस गर्ने प्रतिवद्धता जनाइन् । 

बेतना सिमसारको सभा हलमा सम्पन्न कार्यक्रममा युवराज ठकुरी, सरोज दर्नाल, मुना मिश्र, रोहिणी रसिक, रमेश निरौला, अनुज्ञा नेपाल, प्रविज्ञा नेपाल, विनोद रिजाल, भरत गुरागाईँ ‘बर्बरिक’, विष्णु भण्डारी, किशोर कोईराला, रेखा सुवेदी, शिव छाङ्छा राई, लक्ष्मी श्रेष्ठ, लगायतका दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्