अमना सिसौली वन उपभोक्ता समिति गठन प्रकियाप्रति जनता समाजवादीको आपत्ति


नवनिर्वाचित अध्यक्ष आचार्य 'भन्छन् हामीले प्रक्रिया पुर्याएरै सधारण सभा गरेका हौँ'

बेलबारी, २४ असोज । अमना सिसौली सामुदायिक वनको शुक्रवार सम्पन्न साधारण सभा र त्यसबाट गठन भएको नयाँ कार्य समितिप्रति जनता समाजवादी पार्टी नेपालले आपत्ति जनाएको छ । बेलबारी नगरपालिका वडा नं १, ३ र ४ उपभोक्ता क्षेत्र रहेको अमना सिसौली सामुदायिक वन समूहको साधारण सभा मिति २०७८ साल असोज २२ गते सम्पन्न भएको थियो ।

सभाले लीला आचार्यको अध्यक्षतामा २१ सदस्सीय नयाँ कार्य समितिको चयन गरेको थियो । उक्त साधारण सभा र उक्त सभाले चयन गरेको नयाँ समितिप्रति जनता समाजवादी पार्टी, नेपाल बेलबारी नगर समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमार्फत विरोध जनाएको छ । 

जनता साजवादी पार्टी नेपालका नगर अध्यक्ष तिलक राई र सचिव अमिर मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा साधारण सभाको नाममा विधि र प्रक्रिया नै पूरा नगरी, एकलौटी, ढङ्गले प्रतिनिधि छनौट गरी त्यसैको आधारमा निर्माण भएको साधारणसभाबाट बनेको नयाँ कार्यसमितिलाई अवैज्ञानिक र कानुन विपरीत रहेको आरोप लाएको छ । उसले यसरी बनेको नयाँ समिति अविलम्ब विगठन गरी विधिसम्मत रूपमा नयाँ समिति गठन गर्न आग्रह गरेको छ ।

उता नवनिर्वाचित अध्यक्ष लीलाप्रसाद आचार्यले भने कोभिडका कारणले आम भेला गर्न नसक्दा १७ वटा टोल भेलाले छानेका ५१ जना परिषद् सदस्यबाट साधारणसभा गरेर नयाँ समितिको निर्माण गरिएकोले विधि र प्रक्रिया पुर्‍याएरै काम गरेको दाबी गरेका छन् । उनले राजनैतिक हिसाबले नभई उपभोक्ताका हिसाबले प्रतिनिधि छानिएकाले पार्टीकै हिसाबले नआएका पनि हुन सक्ने बताउँदै, अझै पनि केही विभाग गठन गर्न बाँकी रहेकोले उहाँहरूलाई समेट्न सकिने बताएका छन् ।

उनले कोशी नेपालसँग भने ‘जनता समाजवादी नेपालका साथीहरूले नयाँ समितिमा हाम्रा मानिस परेनन्, अरू पार्टीबाट आ–आफ्ना मानिस मात्र प्रतिनिधि बनाएर लगियो भन्ने  गुनासो गर्नु भएको छ तर उहाँहरूले भनेजस्तो भएको छैन । उपभोक्ताका हिसाबले प्रतिनिधि छानिँदा सबै पार्टीबाट प्रतिनिधि नपरेका पनि हुन सक्छन् । तर उपभोक्ता हिसाबले भने सबैको प्रतिनिधित्व गरिएको छ । तर अझै पनि केही विभाग गठन गर्न बाँकी छन् त्यसमा उहाँहरूलाई समेट्न सकिन्छ ।’ 

तर जसपा बेलबारी नगर कमिटीका अध्यक्ष तिलक राई भन्छन्, हाम्रो गम्भीरतालाई भागबन्डाको आशयले विश्लेषण गर्ने कोसिस गर्नु अर्को त्रुटि  हुने छ । राजनीतिक भाग बन्डाको कुरा हैन। अख्तियारमा उजुरी परि छानबिनको दायरामा रहेको संस्थाको साधारण सभा हुँदा विधि सङ्गत र सूचना सम्प्रेषण गरी उपभोक्ताबाट सही नेतृत्व र असल व्यक्तिहरू आउनु पर्छ भन्ने उपभोक्ताहरूको आवाजलाई बुलन्द गरेको मात्र हो। यस सबै गम्भीर छौ । विधि तर प्रक्रिया देखावटी मात्र भइरहे गम्भीर कदम चाल्ने छौ राईले भने ।

अमना सिसौली बन समूहको साधारण सभाले निरन्तर लीला आर्चाय बाहेक अरू अध्यक्ष प्राप्त गर्न सकेको छैन, साधारण सभाको प्रक्रियामा वास्तविक स्वच्छता छैन, एकलौटी आफ्नो अनुकूलको मात्र प्रतिनिधि छनौट गरी बनेको नयाँ कार्यसमिति प्रति उपभोक्ता समितिका हो भन्दा पनि फरक पर्दैन, जसपा नगर सचिव अमिर मगरले बताए। आम जनताले पनि अमना सिसौली बन समूहको नेतृत्व प्रतिवर्तन होस भन्ने चाहाना राख्छन् तर त्यो कहिले हुँदैन । बेलबारीमा अन्य सामुदायिक वनको कार्य समितिको उल्लेखनीय प्रगतिको अगाडी अमनाले आफ्नो कार्यालय सम्म निर्माण गर्न सकेको छैन । यो विडम्बना हो । समग्र रूपमा गम्भीर भएर निहाल्दा जनता समाजवादी पार्टी नेपाल बेलबारी नगर समिति बनेको नयाँ कार्यसमितिलाई अवैज्ञानिक र कानुनी विपरीत रहेको कुरा प्रेस विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण गराउँदछ, साथै कथित बनेको अमना सिसौली बन कार्यसमिति खारेज गरी, विधि, विधान र प्रक्रिया सम्मत नयाँ कार्यसमिति गठन गर्न यसै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउँदछौ अन्यथा जनता समाजवादी पार्टी नेपाल, बेलबारी नगर समिति अप्रिय कदम चाल्न बाध्य हुनेछ ” सचिव अमिर मगरले भने । 

प्रतिक्रिया दिनुहोस्