हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिए


काठमाडौँ, २५ असोज । हाँस्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । गजुरेलले मञ्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका हुन् । गजुरेलसँग विवाह बन्धनमा बाँधिएकी पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् ।

उनीहरूले सोमबार बिहान मात्र डोलेश्वर महादेव मन्दिर पुगेर परिवारको उपस्थितिमा विवाह गरेका छन् । उनले जीवन सधैँ सरल रेखामा नहिँड्ने भन्दै पहिलो विवाह बन्धन टुटेको चार वर्षपछि उनले पुनः विवाह गरेको स्पष्ट पारेका छन् ।

जगुरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो वैवाहिक जीवन ४ वर्ष पहिले कानुनीरुपमा टुङ्गिएको कुरा यहाँहरूलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ । जीवन यात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो । त्यसै गरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो । यी दुवै अवस्थामा साथ दिने सहयात्रीको अभाव समय क्रममा खड्किँदै आयो । बाबु–नानीको आग्रह पनि यस्तै आउन थाल्यो ।’

मञ्जुसँग चिनजानबाट सुरु भएको सम्बन्ध बिस्तारै घनिष्ठतामा बढ्दै जाँदा आफूहरूले सहयात्रा गर्ने निर्णयमा पुगेको र अगाडि आई पर्ने सुख दुःखमा पनि मिलेर स्वीकार र प्रतिकार गर्ने सङ्कल्पका साथ नयाँ जीवन यात्रा सुरु गरेको उनले प्रस्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्