काली माविमा शुभकामना आदानप्रदान तथा खानेपानी योजना हस्तान्तरण


बेलबारी, २६ असोज । बेलबारी नगरपालिका वडा नं ९ डाँगीहाटमा रहेको काली माविका पूर्व विद्यार्थीहरूको संस्था ‘पूर्व विद्यार्थी मञ्च’ले दसैँ, तिहार तथा छैठको अवसरमा शुभकामना आदान प्रदान तथा शुद्ध खाने पानी योजना हस्तान्तरण गरेको छ ।                       

विद्यालयका पूर्व प्रधानाध्यापक युगतलाल यादव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा न. ९ का अध्यक्ष नगेन्द्र खड्का, काली माविका पूर्व शिक्षकहरू बलराम घिमिरे, जयन्त ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चौधरी, विद्यालयका प्रधानाध्यापक नारायण कोईराला, त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका डा. गोविन्द गुरागाईँ लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् विद्यालयका पूर्व प्रधानाध्यापक युगतलाल यादवले लामो समय पछि आफूले पढाएको विद्यालयमा आउन पाउँदा ज्यादै खुसी लागेको बताए । उनले पहिला आफू प्रधानाध्यापक हुँदा र अहिलेको अवस्थामा ठूलो फरक आएको पनि बताए । उनले भने –हिजो हामी पढाउँदा र अहिले धेरै फरक अवस्था छ । अहिले विद्यालय भौतिक रूपमा पनि सम्पन्न छ । अब विद्यालयलाई गुणस्तरीय रूपमा अगाडि बढाउन आवश्यक छ ।’ 

बेलबारी नगरपालिका वडा नं ९ का अध्यक्ष नगेन्द्र खड्काले गुणस्तरीय शिक्षाको खाँचो औँल्याउँदै विद्यालयमा भौतिक सुधारका कामहरू भइरहेको अब भने गुणस्तरीय सुधारका काममा लाग्नु पर्नेमा जोड दिए । वडाध्यक्ष खड्काले पूर्व विद्यार्थीहरूले विद्यालयलाई उपलब्ध गराएको शुद्ध खानेपानी योजनाको संरक्षण र संवर्धनमा विद्यालयले सचेत हुनु पर्ने बताए ।                                               

विद्यालयका प्रधानाध्यापक नारायण कोईरालाले पूर्व विद्यार्थीहरूले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै उपलब्ध खाने पानीले विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने आसा गरे । कार्यक्रममा पूर्व विद्यार्थीहरू डा. तीलक गौतम, अधिवक्ता प्रेम पोखरेल, डा. गोविन्द प्रसाद गुरागाईँ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सालिकराम बस्नेल लगायतकाले मन्तव्य राखेका थिए । 

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक जुगतलाल यादव, पूर्व शिक्षकहरू बलराम घिमिरे र जयन्त ढकाललाई सम्मान गरिएको थियो ।

विद्यालयका पूर्व विद्यार्थीहरूले आर्थिक संकलन् गरेर करिब ७ लाखको लगानीमा संचालन् गरिएको शुद्ध खाने पानी योजना विद्यालयलाई हस्तान्तरण गरेको पूर्व विद्यार्थी मन्चका सचिव झलक खत्री बताउँछन् ।

वि.स. २०२० सालमा स्थापना भएको यो विद्यालय पछिल्लो समय बेलबारीमै भौतिक रूपले नै सम्पन्न विद्यालयको रूपमा विकास भइरहेको छ । यही विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका मानिसहरू आज देशको शैक्षिक तथा प्रशासनिक उच्च तहमा पुगेका छन् । 

पूर्व विद्यार्थी मञ्चका अध्यक्ष गोविन्द गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने पूर्व विद्यार्थी जगत बस्नेतको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्