दसैँको टीकाको शुभ साइत बिहान १०ः२ बजे


काठमाडौँ, २९ असोज । आज बडा दसैँको मुख्य दिन । अर्थात् आजको दिनलाई विजया दशमीका दिनले चिनिन्छ । आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी पर्व मनाइँदैछ । 

आज बिहान १०ः२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । राम्रो समयको साइत १०ः२ बजेलाई तोकिएको भए पनि विजयादशमीका दिन आज दिनभर टीका लगाउन मिल्ने बताइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष अधिकारीले भन्छन् ‘अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः२ बजेको साइत नै कुर्नु पर्दैन ।’

आजका दिन चन्द्रमा मकर राशिमा रहने हुनाले टीका लगाई दिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ । देविको विसर्जन पश्चात् टीका लगाउनु पर्ने हुन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गर्ने प्रचलन रहे पनि पछिल्लो समय जमरा राख्ने प्रचलन हराउँदै गएको पाइन्छ ।

आज सुरु भएको टीका लगाउने कार्य कोजाग्रत पूर्णिमाका दिनसम्म रहन्छ ।  कोजाग्रत पूर्णिमाका दिनसम्मको अवधिमा सरकारले सार्वजनिक बिदा दिएको छ । 

प्रतिक्रिया दिनुहोस्