‘चाडपर्वले भावनात्मक रूपमा एक बनाउँछ’ : प्रधानमन्त्री देउवा


काठमाडौँ, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सांस्कृतिक पर्वहरूले नेपाली समाजलाई एक आपसमा भावनात्मक सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने बताएका छन् । बडादसैँको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । 

देउवाले विविधतायुक्त विशेषताबिचको एकता नै हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री देउवाले आफ्नो सन्देशमा भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरूलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।’

प्रधानमन्त्री देउवाले कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरेका छन् । ‘यस समयमा बडादसैँ पर्व मनाइरहँदा स्वास्थ्यका मापदण्डहरूलाई पूर्णरूपमा पालना गर्दै आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरकार रूपमा मनाउन म सम्पूर्ण नेपालीमा विशेष अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्