स्थानीयको सक्रियतामा आठराईमा रहेको झाँक्री गुफालाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिँदै


स्थानीयहरु भन्छन् ‘संघ तथा प्रदेश सरकारको सहयोगको पर्खाइमा छौँ’

आठराई, ३० असोज । तेह्रथुमको आठराईमा रहेको झाँक्री गुफालाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीयहरू एकजुट भएका छन् । साबिकको खाम्लालुुङ गाविस वडा नं ९ र हालको आठराई गाउँपालिका वडा नं २ सामथाङमा रहेको यस क्षेत्रलाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीयहरू लागिरहेका छन् । 

प्रकृतिको काखमा रहेको, मनोरम दृश्यले भरिपूर्ण यस स्थानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने अवधारणा पुरानै भए पनि गणेश विमली संविधान सभा सदस्य भएर आए पछि मात्र यस कार्यले मुहूर्त रूप लिन पुग्यो ।

स्थानीयको अवधारणालाई पत्याएर उनले संसद् विकास कोषबाट २० लाख बजेटसमेत छुट्याइदिए । संसद् विकास कोषबाट प्राप्त रकम र स्थानीयको जनश्रमदान गरेर  गुफासम्म जाने करिब २ सय मिटर जत्तिको सिँढी निर्माण कार्य सम्पन्न गरिएको थियो । सिँढीको निर्माणका साथै गुफाको सरसफाइसमेत गर्ने काम सम्पन्न भएको थियो । 

स्थानीय निर्वाचनमार्फत वडामा जनप्रतिनिधि आए त्यस पछि भने यसले थप व्यवस्थित हुने अवसर पाएको स्थानीय सीताराम निरौलाको ठहर रहेको छ । 

कात्तिके सामुदायिक वन भित्र रहेको करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रलाई क्रमिक रूपमा विकास गरिँदै आइएको छ । हाल यस क्षेत्रलाई एक आकर्षक वनभोज स्थल बनाउने काम भएको छ । जसका लागि खाने पानी तथा सौचालयकोसमेत राम्रो व्यवस्था गरिएको छ । खाने पानीको लागि पोखरी निर्माण भएको छ र सोही पोखरीबाट धारामार्फत बाह्रै महिना उपलब्ध हुने गरी खानेपानीको व्यवस्थापन गरिएको छ । 

यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई खान र बस्नको लागि सहयोग पुगोस् भनेर हालै मात्र स्थानीय डम्बरु भण्डारीले कटेजको स्थापना गरेका छन् । 

प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिने यस स्थानलाई व्यवस्थित रूपमा विकास गर्न सकेमा यस क्षेत्रकै आर्थिक उन्नति गर्न सकिने जनप्रतिनिधिसमेत रहेका स्थानीय गोपी ढुङ्गानाको ठहर रहेको छ । उनी कात्तिके सामुदायिक वनका अध्यक्षसमेत हुन् । उनी बाटाको स्तरोन्नति हुने हो भने टाढा टाढाबाट पनि पर्यटक भित्र्याउन सक्ने बताउँछन् । 

उनी भन्छन् ‘छोटो समयको अन्तरालमा धेरै काम भएका छन् । जे भएका छन् ती धेरै स्थानीयकै लगानीमा भएका छन् । स्थानीयको सक्रियतालाई एउटा नमुनाको रूपमा लिन सकिन्छ । सङ्घीय तथा प्रदेश सरकारको आँखा पुगिदिने हो भने यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने थियो ।’

तर उनी आफूहरू प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्ने कुरामा आसावादी रहेको बताउँछन् । 

यस क्षेत्र भित्र ९ साइजको खेल मैदान निर्माण सम्पन्न भएको छ । साथै खेलौनासहितको पिङको निर्माणले पनि बालबालिकालाई थप आकर्षित गरेको छ । साथै प्रेमको निशानी अर्थात् मुटु अङ्कित ‘आइ लभ खाम्लालुङ’ लेखिएको फोटो फ्रेमकोसमेत व्यवस्था गरिएको छ । 

यसै वर्ष प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत वडा कार्यालयबाट करिब ३ किलोमिटर पैदल मार्गको निर्माण कार्य सम्पन्न भएको छ । पर्यटकको स्वागतका लागि लिहिढङ्गा नजिकै स्वागत द्वारको निर्माणसमेत भएको छ । 

यस क्षेत्रमा निजी लगानीमा थुप्रै काम भएका छन् । करिब १ करोड भन्दा बढी लगानीमा काम हुँदा सांसद विकास कोषको २० लाख र विभिन्न शीर्षकमा गरेर स्थानीय सरकारबाट २८ लाख लगानी भएको छ । बाँकी काम भने स्थानीयहरूले आफ्नै निजी लगानीमा गरेका छन् । 

स्थानीय केशर सिंह पाहिमले ३५ लाखको लगानीमा निजी खर्चमा आफ्नी श्रीमती स्वं धनकुमारी कुरुङ्वाङ पाहिमको स्मृतिमा भ्यू टावर निर्माण गरिदिएका छन् । ‘आमा भ्यू’ नाम दिइएको यस भ्यू टावरको निर्माणले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ । यो भ्यु टावर पछिल्लो समय धेरैको आकर्षणको केन्द्रबिन्दु बन्न पुगेको छ ।  

स्वयम् आठराई गाउँपालिका वडा नं २ का अध्यक्ष दीलकुमार पाहिम स्वयमले पनि आफ्नै निजी लगानीमा ‘शीतल हावा घर’को निर्माण गरिदिएका छन् । 

असोज २८ गने नवमीका दिन पारेर वडाका दीलकुमार पाहिम, सिंहराज फम्बो, गोपी ढुङ्गाना, धनमाया गिरी र कृष्णमाया दर्जी गरी पाँचै जना वडाका जनप्रतिनिधिहरूले मिलेर आफ्नै निजी लगानीमा करिब १ लाख खर्च गरेर उक्त क्षेत्रमा राष्ट्रिय झण्डा राख्ने काम गरेका छन् ।

यस कार्यले झाँक्री गुफालाई थप सुन्दर बनाएको स्थानीय विष्णुप्रसाद खनाल बताउँछन् । उनी भन्छन् ‘यसै त यो क्षेत्र पर्यटकलाई लोभ्याउने खालको छ झन् राष्ट्रिय झण्डोतरणको कारणले थप सुन्दर बनाएको छ ।’

फ्रि वाइफाई, फोहर व्यवस्थापनका लागि डस्विनको व्यवस्थापन तथा संस्थाको एउटा कार्यालय प्रयोजनका निम्ति एउटा भवन निर्माण गर्ने योजनाका साथ काम भइरहेको वडा अध्यक्ष दीलकुमार पाहिम बताउँछन् । आफूहरू स्थानीय श्रोत र साधनका बाबाजुत पनि यस क्षेत्रको विकासमा लागिरहेको वडाध्यक्ष पाहिम बताउँछन् । 

सङ्घ तथा प्रदेश सरकारको आँखामा पर्न नसकेको यस पर्यटकीय क्षेत्रको विकासमा स्थानीयहरू यसलाई जिल्लाकै एक आकर्षक पर्यटकीय गन्तव्य बनाउन कम्मर कसेर लागिरहेका छन् । गरे के हुन्न भन्ने उदाहरणको रूपमा यस कार्यलाई लिन सकिन्छ । निजी लगानीमै आफ्नो क्षेत्रमा भएको पर्यटकीय क्षेत्रको विकासमा लागिरहेका स्थानीयहरूलाई सङ्घ तथा प्रदेश सरकारको सहयोगको खाँचो रहेको छ । 

प्रतिक्रिया दिनुहोस्