प्रहरीद्वारा विप्लव समूहको भण्डारण विस्फोटक पदार्थ बरामद


काठमाडौँ, १८ असोज । प्रदेश १ को मोरङमा प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले भण्डारण गरेर राखेको विस्फोटक पदार्थ बरामद गरेको छ ।

विस्फोटक पदार्थसहित विप्लव समूहका मोरङ सेक्रेटरी कुमार खतिवडालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । र असोज ९ गते युवा सङ्गठन सदस्य विपिन भन्ने रामु मग्रातीलाई पक्राउ गरेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय, मोरङले शुक्रवार ४३ वटा जिलेटिनको साथै समूहले तयार पारेको चन्दा रसिद, विभिन्न उद्योग, कम्पनी व्यावसायिक सङ्गठनहरूलाई मागेको आर्थिक सहयोग र अन्य केही महत्त्वपूर्ण दस्ताबेज पनि बरामद गरेको छ ।

खतिवडा पक्राउ गरे पछि बुढीगंगा गाउँपालिका ७ डंग्राहास्थित रत्न कुमार डाँगीको केराघारीमा तीन फिट गहिरो माटो मुनी जिलेटिन फेला पारेको एसपी अधिकारीले बताए ।

साउन १२ गते पनि झापामा झापा इलाका प्रहरी कार्यालय, बिर्तामोडले विप्लव समूहले विस्फोटक पदार्थ भण्डारण गरेको ठाउँमा पनि छापा मारेर २ सय ५ लोला विस्फोटक पदार्थ बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्