टेबल टेनिस सङ्घलाई महासङ्घको विशेष कार्यक्रम


काठमाडौँ, १ कार्तिक । अन्तर्राष्ट्रिय टेबल टेनिस महासङ्घले अखिल नेपाल टेबल टेनिस सङ्घलाई माई जेन्डर माई स्ट्रेन्थ (My Gender My Strenght) नामक विशेष टेबल टेनिस कार्यक्रम प्रदान गरेको सङ्घले जनाएको छ ।

विशेष गरी महिला जुनियर खेलाडीहरूलाई सशक्तीकरण गर्ने लक्ष सहित प्रदान गरिएको कार्यक्रम अन्तरगत स्कुलका शिक्षकहरूलाई पनि प्रारम्भिक टेबल टेनिस खेल सम्बन्धी प्रशिक्षण प्रदान गरिनुका साथै निर्णायक तालिम पनि प्रदान गरिने सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।

उपाध्यक्ष बज्राचार्यको संयोजकत्वमा कार्तिक ६ देखि १२ गते सम्म सञ्चालन हुने कार्यक्रम काठमाडौँ र विराटनगर गरी दुई स्थानमा सञ्चालन गरिने छ । अत्यधिक महिला खेलाडीहरूलाई सहभागिता गराइने उक्त कार्यक्रमको व्यवस्थापन तथा प्रशिक्षण प्रमुख प्रशिक्षक सञ्जीव ढुङ्गेलको नेतृत्वमा पूर्व महिला राष्ट्रिय च्याम्पियन एवं प्रशिक्षक सन्ध्या शाक्य, मुना बासुकला र विकेन थापाले राष्ट्रिय प्रशिक्षण केन्द्र, लैनचौर र विराटनगरको कभर्डहलमा प्रदान गर्ने कार्यक्रम रहेको उपाध्यक्ष बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्