श्रीमान् श्रीमती बिच कुटाकुट हुँदा तेह्रथुममा श्रीमानको मृत्यु


तेह्रथुम, १ कार्तिक । तेह्रथुममा श्रीमान् श्रीमतीको झगडा हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् । मृत्यु हुनेमा छथर  गाउँपालिका वडा नं ३ ज्यामिरेका ५४ वर्षीय गोविन्द बहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय वसन्तपुरले मृतक लिम्बु र उनकी ५२ बर्षीया श्रीमती भक्त कुमारी लिम्बुबिच मादक पदार्थ सेवन गरी झगडा भएको, झगडामा चोटपटक लाग्दा श्रीमान्को ज्यान गएको बताएको छ । 

घटनाको विवरण अनुसार आइतवार बेलुका ९ बजे उनीहरू आफ्नै घरमा मादक पदार्थ सेवन गरी कुटाकुट गरेका थिए । एक आपसमा भएको कुटाकुटबाट गम्भीर घाइते भएका दुवैलाई अस्पताल पुर्‍याइएको थियो । उपचाररत अवस्थामै छत्तर अस्पतालमा श्रीमानको राती १२ : ४५ मा मृत्यु भएको प्रहरीले जनाएको छ । उता श्रीमती भक्त कुमारीलाई भने थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ । 

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्