महाकाली नदी बस्तीमा पसे पछि सयौँ घर डुबानमा


कैलाली, २ कार्तिक । महाकाली नदी बस्तीमा पसे पछि तटीय क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । लगातारको वर्षाका कारण महाकाली र जोग बुढा नदीमा आएको बाढी बस्तीतिर पस्दा तटीय क्षेत्रका सयौँ घरहरू डुबानमा परेका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कञ्चनपुरको भीमदत्त नगरपालिका–नम्बर ९, १२ र १३ तथा दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको जानकारी दिएका छन् । 

महाकाली नदी र जोग बुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आएको र उक्त बाढीले नदी तटका सयौँ घर परिवार प्रभावित भएको प्रशासनले बताएको छ । नदीमा पानीको बहाव बढ्दो क्रम जारी रहेकाले उक्त क्षेत्रमा जोखिम बढेको भन्दै प्रशासनले बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेको छ । 

आइतबारदेखि लगातार रूपमा परिरहेको वर्षाले ठूलो क्षति पुर्‍याएको छ । प्रभावित परिवारहरूको उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका संयुक्त टोलीहरू परिचालन गरिएको छ । 

सुरक्षाकर्मीले उद्धार गरेर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम गरिएको प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले बताएका छन् । उनले भिमदत्त नगरपालिका– १२ का ४० परिवारलाई स्थानीय विद्यालयमा राखिएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्