लगातार रूपमा पानीले आएको बाढीले चिसाङको धार परिवर्तन गरेपछि स्थानीय त्रसित


बेलबारी, ४ कार्तिक । चिसाङ खोलाले धार परिवर्तन गरेर पश्चिमतर्फ बग्न थाले पछि आसपासका बासिन्दाहरू त्रसित भएका छन् । केहिदिन देखि लगातार रूपमा परेको पानीले बाढी आएर खोला कटान हुन थाले पछि स्थानीय त्रसित भएका हुन् । 

बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको सिमाना भएर बग्ने चिसाङ खोलाले पुरै धार परिवर्तन गरेर पश्चिमतिर कटान सुरु गरेको छ । पूर्वमा जनजागृति सामुदायिक वन पर्छ भने पश्चिममा सिंहदेवी सामुदायिक वन पर्छ । चिसाङले धार परिवर्तन गर्दा पुलको पश्चिमपट्टि अर्थात् बेलबारी नगरपालिकामा पर्ने सिंहदेवी सामुदायिक वनतर्फको भूभागमा कटान सुरु गरेको छ । अहिले भइरहेको कटान नरोक्ने हो भने पुल जोखिममा पर्न सक्ने देखिएको भन्दै बेलबारी नगरपालिकाले सम्बन्धित निकायलाई सचेत गराएको थियो ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी हिजो (बुधवार) चिसाङको निरीक्षण गर्दै आफूले सम्बन्धित निकायलाई खबर गरिसकेको, पश्चिमतर्फ बगिरहेको खोलाको खोलालाई धार परिवर्तन गर्न सडक विभागलाई जानकारी गराइसकेको बताएका छन् । 

चिसाङको क्षतिको बारेमा नगरप्रमुख सुवेदीले जानकारी गराए लगतै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लक्षुमन तिवारी, सङ्घीय सरकारका पूर्व मन्त्रीसमेत रहेका मोरङ क्षेत्र नं ३ प्रतिनिधि सभाका सांसद भानुभक्त ढकालले निरीक्षण गरेका थिए । उक्त स्थानको पुलमा एकातर्फबाट मात्र गाडी चलाउने व्यवस्था गरिएको, दुई जना सुरक्षाकर्मी खटाएर यातायातलाई व्यवस्थित गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल  बताउँछन् । 

बाढीले चिसाङ खोलाको पूर्व पट्टि रहेको चिसाङ बस्ती पनि उत्तिकै जोखिम रहेको पाइन्छ । चिसाङ खोलाको उत्तर र दक्षिणमा गरेर १ सय ५० जति घरहरू रहेका छन् । ती अधिकांक्ष घरहरू अति जोखिममा रहेका छन् । उनीहरू राज्यले चाँडो वैकल्पिक व्यवस्था गरोस् भन्नेमा रहेका छन् ।                                          

कानेपोखरी गाउँपालिका वडा नं ५ चिसाङ बस्तीका बृखबहादुर राई आफूहरूले डरले नसुती रात बिताएको बताउँछन् । उनी भन्छन् –रात त्यसै नसुती बित्यो । उज्यालो होला कि नहोला जस्तो भयो ।’                                                  

अझ एक दिन यसै गरी पानी आउने हो भने बस्ती पुरै कटान हुने सम्भावना रहेको  स्थानीय धनबहादुर मगर बताउँछन् । उनी चाँडै खोलाको धार परिवर्तन गर्नुपर्ने  नत्र पुल भत्किने सम्भावना रहेको बताउँछन् । सम्बन्धित निकायको ध्यान जानू पर्ने नत्र बाटो नै भत्किएर यातायात अवरुद्ध हुने सम्भावना देखिएको उनीहरूको ठहर रहेको छ ।

बेलबारी १० भाउन्नेका देवराज विश्वकर्मा हेर्दा हेर्दै चिसाङले सिंहदेवी सामुदायिक वनतर्फको ठूलो क्षेत्रफल कटानी गरेको बताउँछन् । केही दिन अघिको खोला बगेका स्थान देखाउँदै विश्वकर्मा भन्छन् ‘अस्ति मात्र खोला त्यहाँ बग्दै थियो । आज यतिवर आइपुगेको छ । यदि यसलाई नियन्त्रण गरिएन भने पुल र बाटो दुवै जोखिममा रहने छ ।’ 

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह यसरी कार्तिक महिनामा यति ठूलो बाढी आएको आफ्नो पहिलो अनुभव रहेको बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्