किसान भन्छन् ‘कोरोनाबाट त बाचियो तर अब भोकमारीले भने मरिएला जस्तो छ’


बेलबारी, ५ कार्तिक । बेलबारी ४ का माधव प्रसाद नेपालको बाली भित्र्याउने बेला भएको थियो । उनी धान काटेर उठाउने तयारीमा थिए । उनले धान उठाउन त पाएनन् पाएनन् भोलिपल्ट बिहान खेतमा जाँदा धानसमेत भेटेनन् । मङ्गलवार राती आएको बाढीले पुरै धान खेतबाटै बगाएर लगिदियो । सुकाएको धान बाढीले पुरै बगाएर कहाँ पु¥यायो पु¥यायो नामो निसान नै छैन । त्यत्रो धान नामो निसानसमेत नराखी बगाएर लग्यो । उनले यस्तो होला भन्ने दस मनमा एक मनले पनि सोचेका थिएनन् । आफ्नो झण्डै एक सय मन जति धान बाढीले बगाइदिएको नेपाल बताउँछन् । 

कृषि पेसामै निर्भर रहेका उनले १० जनाको परिवार यही खेतीबाटै पाल्दै आएका थिए । तर खेतबाट सबै धान बगाइदिए पछि उनलाई अब कसरी जहान छोराछोरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।

उनी मनभरि पीडा जमाउँदै भन्छन् –धान उठाउने तयारीमा थिएँ तर के गर्नु र राती नै सबै पानीले आएको बाढीले बगाइदियो । अब कसरी जहान छोराछोरी पाल्ने नगरपालिकाले केही सहयोग गरिदिए पनि हुने थियो ।’ 

उता बेलबारी ४ कै धनबहादुर मगरको पीडा पनि उस्तै छ । उनले पनि साहुकै भए पनि दुई विगाहाजति खेती गरेका थिए । धान पनि राम्रै फलेको थियो तर पाक्न नपाई धान बाढीले सबै पोतिदियो । अब उठ्ला र फल्ला भन्ने उनलाई आस लागेको छैन । उनी अव कसरी जहान परिवार पाल्ने भन्नेमा चिन्तित रहेका छन् ।

बेलबारी २ का रुद्रप्रसाद पाठकले अर्कैको जग्गा लिएर भए पनि खेती गरेका थिए । उनको एउटा कित्तामा धान पाकिसकेको थियो भने अर्को कित्तामा पाक्ने तयारीमा थियो । उनी पनि एउटा कित्ताको धान काट्ने तयारीमा थिए । तर एक्कासि आएको पानीले सबै नास पारिदियो । उनी साह्रै चिन्तित हुँदै भन्छन् –साहुकै भए पनि खेती गरिएको थियो । धान पनि राम्रै फलेको थियो तर के गर्नु र सबै लगिदियो ।’

उता बेलबारी ९ का जीवन कार्कीको पनि पीडा पनि खरुकोभन्दा फरक छैन । उनले पनि साहुकै भए पनि चार विगाहाजति खेती गरेका थिए । धान पनि राम्रै फलेको थियो तर बाढीले एकैछिनमा स्वाहा पारिदियो । उक्त क्षेत्रमा करिब १२ विगाहाजतिमा लगाएको धान पुरै नष्ट पारिदिएको कार्की बताउँछन् । 

उनी अव कसरी जहान परिवार पाल्ने भन्नेमा चिन्तित रहेका छन् । उनी कोरोनाले भन्दा अब भोकमारीले पो मरिने पो होकि भन्ने चिन्ताले सताएको बताउँछन् । 

बेलबारी ४ का माधव नेपाल, धवबहादुर मगर, बेलबारी २ लालभित्तीका राजन पाठक, बेलबारी ९ का जीवन कार्की त प्रतिनिधि पात्र मात्र हुन् । अधिकांक्ष कृषकको पीडा एउटै छ । अब कसरी जहान बच्चा पाल्ने होला भन्नेमा उनीहरू चिन्तित देखिएका छन् । उनीहरू यस्तो बेलामा सरकारको पर्खाइमा छन् । सरकारले केही गरिदेला कि भन्ने आसामै बाँचिरहेका छन् ।

यता स्थानीयपालिकाहरुले धमाधम क्षति विवरण सङ्कलन गरिरहेका छन् । सुन्दरहरैँचाले २ गतेदेखि नै विवरण संकलन् सुरु गरेको छ भने बेलबारीले ३ गतेबाट । वडा कार्यालयमार्फत विवरण संकलन् गर्ने व्यवस्था गरिएको बेलबारी नगरपालिकाका कृषि शाखा प्रमुख विनोद दाहाल बताउँछन् ।

बेलारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, कृषि शाखा प्रमुख विनोद दाहाल सहितको  नगरपालिकाको टोलीले बुधवार नगरका विभिन्न स्थानमा बालीको क्षतिको स्थलगत निरीक्षण गरेका थिए । 

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी बाढीले ठूलो क्षति पु¥याएको, क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँदै, क्षतिको मात्रा धेरै भएकोले स्थानीयले आसा गरेको जस्तो राहत दिन सक्ने अवस्था नरहेको बताउँछन् ।

अरुबेला सबैलाई पाल्ने किसानलाई यतिखेर आफै कसरी पालिने भन्न चिन्ताले पिरोलेको छ । किसानहरूमाथि ठूलो बज्रपात भएको छ । यतिखेर उनीहरू ठूलो पीडामा छन् । अहिले उनीहरूको पीडामा मलम लाउने काम राज्यको हो । अर्थात् स्थानीय सरकारको हो । तसर्थ विवरण सङ्कलन गरेर प्रदेशमा पठाउने भन्दा पनि प्रदेश तथा सङ्घीय सरकारमार्फत राहतको राम्रो प्याकेज ल्याएर किसानको पीडामा मलम लाउन जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्