मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै


मोरङ, ७ कार्तिक । प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार) विश्वास मत लिँदै छन् । शुक्रवार प्रदेशसभाको बैठकमा टेबुल भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आज मतदान हुने छ । 

मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेपछि पनि सत्ता लम्ब्याउने अनेकन् प्रपञ्च भएको भन्दै प्रतिपक्षीले सरकारको आलोचना गर्दै आएका छन् । 

एमाले विभाजित भएको भोलिपल्ट तत्कालीन मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि एमालेले भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो । तर एमालेका १० जना सांसदले एकीकृत समाजवादी रोजे पछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

९३ सांसद रहेको प्रदेश–१ मा सरकार गठन गर्न ४७ जना सांसद चाहिन्छ । एमालेसँग यतिखेर सभामुखसहित ४१ जना सांसद मात्र छन् । ५१ मध्ये १० सांसद एकीकृत समाजवादीतिर लागेकाले आचार्यले विश्वासको मत पाउने सम्भावना कम रहेको देखिन्छ । 

उता विपक्षी गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सहमति बनेको बताइएको छ । राईलाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल र नेकपा (एकीकृत समाजवादी)को समर्थन रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्