आठराई संक्रान्तिबजार अब सिसि टिभी क्यामराको निगरानीमा


तेह्रथुम, ७ कार्तिक । आपराधिक घटनालाई निरुत्साहित गर्ने उद्देश्यले तेह्रथुमको आठराई गाउँपालिकाले सङ्क्रान्ति बजारमा सिसी टिभी क्यामरा जडान गरेको छ । सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै बजारलाई थप सुरक्षित बनाउने उद्देश्यले बजारलार्ई सिसी क्यामराको निगरानीमा राखिएको गाउँपालिकाले जनाएको छ । 

आठराई गाउँपालिकाका उपाध्यक्ष रुपा कन्दङ्गवाले चाडबाडमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोक्न सहयोग पुगोस् भनेर पालिकाले सिसि टिभी क्यामरा जडान गरिएको बताइन । सुरुमा संक्रान्तिबजार बजारमा ५ वटा क्यामरा जडान गरिएको र आवश्यकताका आधारमा अन्य स्थानमा पनि क्यामरा थपिने उपाध्यक्ष कन्दङ्गवाले बताइन । 

पछिल्लो समय समाजमा चोरी तस्करी, तथा आपराधिक घटनाहरू बढी रहेका छन् । क्यामरा जडानले यस्ता आपराधिक गतिविधिबाट समाजलाई जोगाउन, सवारी दुर्घटना नहोस् र भइहाले दोषी पहिचान गर्न सजिलो हुने इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दार बताउँछन् ।

आठराईकै अर्को पुरानो बजार चुहानडाँडामा भने स्थानीय व्यापारी याम श्रेष्ठले आफ्नै निजी लगानीमा यस अघि नै सिसि टिभी क्यामरा जडान गरेका छन् । 

सिसि टिभी जडानका लागि पालिकाको ३ लाख लगानी भएको छ । जडान गरिएका सबै सिसी क्यामराको इलाका प्रहरी कार्यालयले मनिटरिङ गर्ने छ । तस्वीर : हाम्रो सवालबाट

प्रतिक्रिया दिनुहोस्