प्रदेशसभा बैठक स्थगित गर्न काँग्रेसको माग


मोरङ, ७ कार्तिक । आइतबारका लागि बोलाएको प्रदेश–१ को प्रदेशसभाको बैठक स्थगित गर्न नेपाली काँग्रेस प्रदेश नम्बर–१ ले माग गरेको छ । गृहकार्य नपुगेको लगायतका विविध कारण देखाउँदै आजको बैठक स्थगित गर्न काँग्रेस लिखित रूपमै माग गरेको हो । 

नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले ‘गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका बताए । प्रतिपक्षी दलले गृहकार्य नपुगेको भने पनि ‘फ्लोर क्रस’ को आशङ्का रहेकोले बैठक स्थगनको माग गरिएको जानकारहरू बताउँछन् । 

९३ सांसद रहेको प्रदेश–१ मा सरकार गठन गर्न ४७ जना सांसद चाहिन्छ । एमालेसँग यतिखेर सभामुखसहित ४१ जना सांसद मात्र छन् । ५१ मध्ये १० सांसद एकीकृत समाजवादीतिर लागेकाले आचार्यले विश्वासको मत पाउने सम्भावना कम रहेको देखिन्छ । 

उता विपक्षी गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सहमति बनेको बताइसकेको छ । राईलाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल र नेकपा (एकीकृत समाजवादी)को समर्थन रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्